मधेस

सशस्त्र प्रहरीद्वारा ३ हजार प्रतिबन्धित भारतीय चल्ला नष्ट

१४ असार २०८१, शुक्रबार ११:४४

वीरगञ्ज,१४असार । सशस्त्र प्रहरी बल नेपालले प्रतिबन्धित भारतीय चल्ला बरामद गरेर नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर मातहत खटिएको सशस्त्र प्रहरीको टोलीले गएराति विन्दवासिनी क्षेत्रबाट बरामद गरेको ३ हजार वटा कुखुराको चल्ला बरामद गरी नष्ट गरेको हो ।

भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याईरहेको २१ वटा कार्टुनमा रहेको ३ लाख मूल्य बराबरको कुखुराको चल्ला बरामद गरि नष्ट गरिएको प्रवक्ता एवं सशस्त्र नायव उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीले बरामद गरेको चल्ला आज पशु क्वारेण्टाईन, कुखुरा व्यावसायी संघ, सञ्चारकर्मी लगायतको रोहबरमा सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर परिसरमा खाल्डो खनेर नष्ट गरिएको प्रवक्ता एवं सशस्त्र नायव उपरीक्षक सिंहले बताउनुभयो ।

यसअघि हिजै सशस्त्र प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर–६ गहवाबाट भन्सार छलि गरी भण्डार गरि राखिएको रजनीगन्धा गुट्खा बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट खटिएको टोलि र बिरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलिले निखिल किराना स्टोरको गोदाममा भण्डारण गरि राखेको १ लाख ४ हजार ३२० रुपैंया बराबरको रजनिगन्धा बरामद गरेको हो ।

बरामद गरिएको रजनीगन्धा आवश्यक कारबाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी पर्साले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्