प्रदेश समाचार

५ किलोग्राम गाँजासहित पर्साबाट दुई जना पक्राउ

१७ असार २०८१, सोमबार १५:२६

वीरगञ्ज१७ असार । ५ किलोग्राम लागु औषध गाँजासहित पर्साबाट दुई जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईनर्वा भन्सार मेनगेटबाट प्रहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ बस्ने १८ वर्षका ईमताज आलम र भारत पुर्वी चम्पारण मोतिहारी जिल्ला थाना भेलाही मुसहरवा– २ बस्ने २२ वर्षीय नवरेज आलम रहेका प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र प्रहरी चौकी ईनर्वाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले जाँच अभियान चलाएको थियो । सोही क्रममा रक्सौलतर्फ जाँदै गरेको अटोमा सवार इमताजको साथबाट लागु औषध गाँजा बरामद गरेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

उनले बोकेको कालो झोलाभित्र लुकाईछिपाई राखिएको अवस्थामा लागु औषध गाँजा ५ केजी ७२० ग्राम फेला परेको मधेश प्रदेश प्रहरीका प्रवक्ता सुवाष बोहरोले जनाए । पक्राउ परेकाहरुमाथि लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया दिनुहोस्