आर्थिक

वीरगञ्जको ड्राइपोर्ट भन्सारबाट पास नभएको ९६ हजार बोरा गुणस्तरहिन डिएपी मल चारवर्षदेखि अलपत्र

२० असार २०८१, बिहीबार १७:५८

वीरगञ्ज,२० असार । नेपालका लागि आयात गरिएको रासायनिक मल भिजेर गुणस्तरहिन भएर जाँचपास नहुँदा चारबर्षदेखि ड्राईपोर्ट भन्सारमै अलपत्र परेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत खरिद गरेको दुई ¥याक मल भिजेर कालो डल्ला परेको अवस्थामा आइपुगेको थियो । साल्ट ट्रेडिङले आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजसँग २५ हजार मेट्रिक टन मलका लागि सम्झौता गरेको थियो ।

२०७७ असोज २८ गते आइपुगेको २ हजार ३ सय मेट्रिक टन डीएपी ४६ हजार बोरा र भदौ पहिलो साता आइपुगेको २५ सय मेट्रिक टन (५० हजार बोरा) डीएपी मल भिजेको थियो । सोही बर्ष मे महिनामा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको आपूर्तिकर्ता कम्पनीको भन्सार एजेन्टका प्रतिनिधिले बताएका थिए ।

कोलकाता बन्दरगाहमा राख्न नदिएपछि भिजेको मल वीरगन्ज स्थित सुक्खा बन्दरगाह भन्सारमा ल्याइएको थियो । रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा नै मल डल्लो परिसकेको थियो । मल भिजेर कालो डल्लो बनेपछि भन्सार जाँचपासका लागि अयोग्य भएर आयात गर्ने ठेकेदार कम्पनीले जाँचपासका लागि प्रक्रिया नै सुरु गरेन ।

जाँजपास नहुँदा भन्सारको गोदाममा महिनौसम्म राखिएको मल अहिले ड्राईपोर्टकै खाली जग्गामा थुपारेर राखिएको छ । त्यस बेला कम्पनीले भने १ हजार २२५ मेट्रिक टन मलमात्रै नोक्सान भएको दाबी गरेको थियो । कृषि मन्त्रालयले खटाएको स्वतन्त्र सर्भेयरले काम लाग्ने र नलाग्ने मललाई छुट्याएर २०७८ साल जेठ २४ गते २७० मेट्रिक टन मल भने जाँचपास भएको छ ।

बाँकी मल गुणस्तरहिन भएपछि भन्सार ऐन र नियामावलीले जाँचपास गर्न नमिल्ने भएर जाँचपास नहुँदा आपूर्तिकर्ताले पनि उक्त मल भन्सार भित्रै छोडेको हो । आँधी ले रेल ¥याकमै भिजेर काम नलाग्ने भएको रासायनिक मल जाँचपास नभएपछि भन्सार कार्यालयले नष्ट गर्नुपर्ने भएपनि अझैसम्म नष्ट नगर्दा ड्राईपोर्ट भन्सार भित्र रहेका बाँसको झ्याङ र अन्य बोटविरुवाहरु पनि सुकेर मरेको भन्सार कर्मचारीहरुले बताएका छन् ।

जाँचपासका लागि अयोग्य वस्तु भन्सार कार्यालयले नष्ट गर्नुपर्ने भएपनि चारबर्षदेखि उक्त मल नष्ट गरिएको छैन । बन्दरगाहसम्म आइपुगेको मलको जिम्मेवारी आपूर्तिकर्ताकै भएकोले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले भने त्यसमा कुनै चासो लिएन । साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय प्रबन्धक प्रदेश कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेले आपूर्तिकर्ताकै जिम्मेवारीमा मल भिजेकोले आफ्नो दायित्वमा नपरेको बताए ।

उनले भने, ‘हाम्रो दायित्व भित्र परेन । सप्लायर्सको हो । हाम्रो गोदामसम्म ल्याउने सम्झौता रहेकोले गोदाममा नआएसम्म हाम्रो दायित्व भएन । सप्लायर्सकै हो ।’ वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धन बहादुर बरुवालले अहिलेसम्म मल नष्ट नगरिएको बताए । बन्दरगाहमा भन्सार जाँचपास गर्न अयोग्य अन्य धेरै वस्तुहरु पनि रहेको र मुख्य चाँहि रासायनिक मल नै रहेको बताए । उनले आफू भर्खरै सरुवा भएर आएकोले त्यसको विषयमा थप जानकारी लिएर प्रकृया अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्