मधेस

वीरगञ्जमा रथयात्रा, भक्तजनको उत्साहजनक सहभागिता

२३ असार २०८१, आईतवार ११:४९

वीरगञ्ज ,२३ असार। पर्साको प्रसिद्ध गहवामाई मन्दिरको १२ औं वार्षिकोत्सवको अवसरमा दोस्रो रथयात्रा आज वीरगञ्जमा निकालिएको छ ।

गहवामाई मन्दिरको प्राङ्गणबाट आज विहान साढे ६ बजेबाट निकालिएको रथयात्रा घण्टाघर, रेलवे रोड, अमर चौक, छपकैया चौक, बिर्ता चौक, आदर्शनगर चौक, महाविरस्थान परिक्रमा गर्दैछ । नगरको विभिन्न परिक्रमा पश्चात रथयात्रा पुन् गहवामाई मन्दिरको प्राङ्गणमै पुग्नेछ ।

रथयात्रामा लाखौको संख्यामा भक्तजनहरु सहभागी भएका छन् ।

गाउँगाउँबाट भक्तजनहरु रथयात्रामा सहभागी भएका रथयात्राका लागि बनाइएका समितिका अध्यक्ष श्याम पोखरेलले बताए । उनले भने ‘गहवामाई मन्दिर प्राङ्गणमा आज साँझ ६ बजे देखि भजन किर्तनका कार्यक्रम हुनेछ । ’

यसैगरी भोलि साँझ ५ बजे महाभंडारा (प्रसाद ग्रहण कार्यक्रम) रहेको पोखरेलले बताए ।

यो रथ यात्राले वीरगन्जको संस्कृति झल्काउने र सांस्कृतिक सम्पदाको संरक्षणका निम्ति सहयोग पुग्ने विश्वास वीरगन्जको महानगर प्रमुख राजेशमान सिंहको छ ।

रथयात्रामा बढीभन्दा बढी भक्तजनहरुको सहभागी होस् भन्ने उदेश्यले आज वीरगन्ज महानगर अन्तर्गतका सबै सामुदायीक तथा संस्थागत विद्यालयमा आज विदा दिइएको छ ।

महानगरको शैक्षिक प्रशासन महाशाखाले सबै शैक्षिक संस्था बन्द गर्न अनुरोध सहितको सूचना जारी गरेको थियो ।

सोही सूचनाको आधारमा आज सबै शैक्षिक संस्था बन्द गरिएको छ ।

आज र भोलि वीरगन्ज महानगरक्षेत्र भित्र मदिरा, माछामासु सेवन तथा विक्रिवितरणमा समेत रोक लगाइएको छ ।

रथलाई कसरी सजाइएको छ ?

गत वर्ष काठले बनाइएको पुरानो रथलाई रङ्गरोदन गरिएको छ ।

रथको बाहिरी भागलाई सयपत्री फुलले दुलही झै सिंगारिएको छ । रथ कै भित्र चाँदीको मण्डप बनाइएको छ ।
चाँदीको मण्डपलाई काठमाडौंका विशेष कारिगरहरु मिलेर तयार पारेका हुन्।

मण्डपमा करिब १५ किलो चाँदी खपत भएको समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्