मधेस

छुरा प्रहार गरी एक युवकको हत्या

२६ असार २०८१, बुधबार १३:१२

वीरगञ्ज , २६ असार। रौतहटको ईशनाथ नगरपालिकामा छुरा प्रहार गरी एक जना युवकको हत्या भएको छ । नगरपालिकाको वडा नम्बर ९ लवातना गाउँका १८ का सहबाज मिँया आलमको छुरा प्रहारबाट मृत्यु भएको हो ।

रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक एलिजा गिरीका अनुसार आलमको पेटमा धारिलो छुरा प्रहार गरी हत्या भएको हो । गएराती ईशनाथ २ औरेया स्थित आँपको बगैँचामा एक युवकलाइ घाइते अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।

घटनास्थलमा पुग्दासम्म युवकको मृत्यु भइसकेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईँले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार मृतक आलमलाई गाउँकै केही साथीहरूले मङ्गलवार साँझ ७ बजे केही काम छ भनेर घरबाट बोलाएर लागेका थिए । त्यसपछि उनको पेटमा छुरा प्रहार गरी हत्या गरिएको थियो ।

हत्यामा संलग्न रहेको आशङ्कामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता गिरीले बताइन् । पक्राउ परेका चारै जना मृतकका साथी हुन् । उनीहरू लागु औषध प्रयोगकर्ता भएको प्रहरीको अनुमान छ ।

हत्याको कारण खुलिनसकेको तथा घटनाबारे आवश्यक अनुुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्