प्रदेश समाचार

बाराको पसाहामा यात्रुवाहक बस दुर्घटना

२७ असार २०८१, बिहीबार १२:१३

वीरगञ्ज, २७ असार । बारामा यात्रुवाहक बस दुर्घटनामा परेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पसाहास्थित आज बस दुर्घटनामा परेको हो ।

मलङगवाबाट वीरगञ्जका लागि छुटेको ना ४ ख ७१९४ नम्बरको बस दुर्घटनामा परेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी उपरिक्षक एसपी भीमकिरण बोगटीले पुष्टि गर्नुभयो । सडकमा गुडीरहेको बसले अर्को सवारीलाई उछिन्न खोज्दा अनियन्त्रित भइ चिप्लिएर दुर्घटना भएको उहाँको भनाई छ ।

दुर्घटनामा परी ८÷९ जना यात्रु घाइते भएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य चौकी सिमरा तथा अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको एसपी बोगटीले बताउनुभयो ।

यसैबिच इलाका प्रहरी कार्यालय सिमराले बसका सहचालकलाई नियन्त्रणमा लिएको छ । चालक भने घटना भएलगत्तै फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्