प्रदेश समाचार

सखुवा प्रसौनीका एकै परिवारका तीनजना सहित पाँच जना बेपत्ता

२८ असार २०८१, शुक्रबार ११:३३

२८ असार, वीरगञ्ज । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गएको पहिरोको लेदोले बगाएको एञ्जल बसमा सखुवा प्रसौनीका एकैपरिवारका ३ जना सहित पाँचजना परेका छन् ।

आज बिहान तीन सिमलतालमा गएको लेदो सहितको पहिरोमा वीरगन्जबाट काठमाडौं गईरहेको एञ्जल डिलक्स बसमा सवार सखुवा प्रसौनी गाउँपालिकाका दुई स्वास्थ्यकर्मी र एकै परिवारका तीनजना परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले जानकरी दिनुभयो ।

उहाँका अनुसार एञ्जल बस दुर्घटनामा सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर २ जमुनियाका एकै परिवारका तीनजना परेका छन् । जमुनियाका हृदयनारायण चौधरी थारु, उहाँकी श्रीमती भगवती थरुनी र छोरी चन्द्रप्रभा रहेका छन् ।

उनीहरु तीन जनाको परिवार उपचारका लागि काठमाडौं गएको जानकारीमा आएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।

स्वास्थ्यकर्मीहरुमा सखुवा प्रसौनी गाउँपालिकाको अस्पतालमा कार्यरत रेडियो ग्राफर कलैया उपमहानगरपालिकाकी श्रृष्टि यादव र ल्याब असिस्टेण्ट सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कटैयाका रैफल अन्सारी रहेका छन् ।

घटनाको जानकारी पाएपछि गाउँपालिका अध्यक्ष यादव सहितको टोली घटनास्थलतर्फ हिडेको उहाँले बताउनुभयो । सिमलताल पहिरोमा परेका बसमा सवार तीनजना भने हामफालेर बचेका छन् ।

उनीहरुको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारका लागि पठाईएको बाग्मती प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक(डीआईजी) गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्