राजनीति

ओलीको शपथ भोली साँझ साढे ५ बजे, त्यसअघि नियुक्ति

२९ असार २०८१, शनिबार ११:३९

काठमाडौं,२९ असार । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतवार साँझ प्रधानमन्त्री नियुक्त गर्ने भएका छन् ।

आइतबार साँझ ५ बजे प्रधानमन्त्री नियुक्त गर्ने र त्यसलगत्तै साढे ५ बजे शपथको तयारी भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । आइतबार साँझ शपथको तयारी शुरू भएको शीतलनिवास स्रोतले जानकारी दियो । ‘मुख्यसचिव, राष्ट्रपति कार्यालयका सचिव र प्रधानमन्त्रीको सचिवालय (कामचलाउ प्रधानमन्त्री प्रचण्ड)बीच समन्वय गर्ने काम भइरहेको छ, आइतवार साँझ शपथ हुन्छ’ राष्ट्रपति कार्यालयका एक अधिकारीले भने ।

नेपाली कांग्रेस र नेकपा एमालेका १६६ सांसदको समर्थनमा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि शुक्रवार नै दाबी पेश गरिएको थियो । राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्म प्रधानमन्त्रीको दाबी पेश गर्न शुक्रबार आह्वान गरेका थिए । माओवादी संसदीय दलका नेता प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत पाउन नसकेर पदमुक्त भएलगत्तै राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

त्यसलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष ओलीसहितका नेताहरूले राष्ट्रपति पौडेललाई भेटेर सरकार गठनको दाबी पेश गरेका थिए ।

प्रधानमन्त्रीको शपथसँगै केही मन्त्रीले पनि आइतवार नै शपथ लिनेगरी तयारी भइरहेको स्रोतले बतायो । सम्भवतः आइतवार कांग्रेसका रमेश लेखक र एमालेका अर्का एक मन्त्रीले शपथ लिने छन् ।

प्रतिक्रिया दिनुहोस्