समाचार

गैँडाकोटमा भेटिए दुई शव, सीमलतालमा हराएकै बसका यात्रु भएको आशंका

२९ असार २०८१, शनिबार १७:२३

काठमाडौं ,२९ असार। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित खोला किनारमा दुईवटा शव फेला परेका छन्। नदी किनारको बालुवामा आधा गाडिएको अवस्थामा स्थानीयले उक्त शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

अहिले ती शवहरू उद्धार गरेर चितवनतर्फ ल्याइँदैछ। स्थानीयले खबर गरेपछि अहिले ती शवहरू चितवन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले जानकारी दिए।

नवलपुरतर्फका प्रहरीले नदी तटीय क्षेत्रमा खोजी कार्य गरिरहँदा दुई शव भेटिएको हो। ती शवहरू शुक्रबार बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बसका यात्रु रहेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

यद्यपी उनीहरूको पहिचान भने खुलिनसकेको प्रवक्ता रिजालले बताए।

काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा २७ तथा वीरगञ्जबाट काठामाडौँतर्फ आउँदै गरेको बसमा २४ यात्रु रहेको स्थानीय प्रशासनले जनाएको छ। उक्त दुर्घटनामा परेका ३ यात्रु भने पौडी खेलेर बाँच्न सफल भएका छन्।

हिजो शुक्रबार साँझसम्म खोजी गर्दा पनि बेपत्ता बस र यात्रु नभेटिएपछि आज बिहानैदेखि खोजी सुरु गरिएको हो। अहिलेसम्म गाडी फेला पर्न सकेको छैन।

सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजी भइरहेको छ।

र्‍याफ्ट बोटमा जडान गरेर सोनार क्यामेराले पानीभित्रका वस्तु हेर्न सहयोग पुर्‍याउँछ।

सशस्त्र डीएसपी थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय (कुरिनटार) बाट ९ जना गोताखोरसहित २५ जना र १७ नम्बर गण (चितवन) बाट विपद् व्यवस्थापन तालिम प्राप्त ११ जनासहित ३५ जनाको सुरक्षा फौज खोजी परिचालन गरिएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी पनि खोजीमा जुटेका छन्।

 

प्रतिक्रिया दिनुहोस्