समाचार

सिमलताल दुर्घटना अपडेट : थप दुईजनाको शव भेटियो

३० असार २०८१, आईतवार ११:३५

चितवन,३० असार ।  चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुईवटा बसमा सवार यात्रुमध्ये थप दुईजनाको शव भेटिएको छ ।

आज चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र नवलपरार्सी पूर्व गैँडाकोटमा ती शव भेटिएका हुन् । आज भेटिएका दुई शवको शनाखत हुन बाँकी छ । यसअघि शनिबार तीनजनाको शव भेटिएको थियो । तीनवटा शव आफन्तले बुझिसकेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपाल साहको सनाखत भएको छ भने दुईजनाको परिचय खुल्न बाँकी छ ।

गत शुक्रबार काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस सिमलतालमा पहिरो खस्दा दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा २७ जना र काठामाडौँतर्फ आइरहेको बसमा २४ यात्रु सवार थिए ।

नेपाली सेना, सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरीले खोजी हराइरहेका बस र यात्रुको खोजी जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्