समाचार

सिमलताल दुर्घटना : थप एक शव फेला, ४७ यात्रुको अवस्था अझै अज्ञात

१ श्रावण २०८१, मंगलवार १०:४६

चितवन,१ साउन । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीमा आज बिहान एउटा शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार एक पुरुषको शव फेला परेको हो । शवको पहिचान खुलेको छैन ।नदी किनारको बालुवामा पुरिएको अवस्थामा भेटिएको शवको उत्खनन गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

उक्त शव सिमलताल बस दुर्घटनामा परि बेपत्ता भएका यात्रु मध्येकै भएको हुनसक्ने अनुमान छ । यसअघि गैरी क्षेत्रमै बस दुर्घटनामा परेका ३ यात्रुको शव फेला परेको थियो । योसँगै हालसम्म १५ यात्रुको शव फेला परेको छ भने ४७ यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।

सिमलताल दुर्घटनामा परेका यात्रुको शव करिब १०० किमी तल गण्डक ब्यारेजमा भेटिन थालेकाले सो क्षेत्रमा खोजी तीव्र पारिएको स्थानीय प्रशासनले जनाएको छ । दुईवटा बसमा ६५ जना यात्रु रहेकोमा तीन जना पौडिएर निस्किन सफल भएका थिए ।

तीनवटै सुरक्षा निकायले त्रिशूलीमा हराइरहेका दुई बस र त्यसमा सवार यात्रुको खोजीलाई आज पनि निरन्तरता दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्