प्रदेश समाचार

सिमलताल पहिरोमा वेपत्ता पीडित परिवारलाई मेयर सिंहले भेटे

२ श्रावण २०८१, बुधबार ११:४१

वीरगंज, २ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको एन्जल बसमा सवार रहेका वीरगंजका ३ जनाका परिवारसँग वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले भेट गर्नु भएको छ ।

तीनै जना वीरगंज महानगरपालिका वडा नं. १६ का रहेका छन् । उनीहरुको परिवारसँग मेयर सिंहले आज बिहान भेट गर्नु भएको हो । पहिरोमा परि त्रिशुली नदीमा खसेको बसमा सोही बसका चालक वीरगंज १६ नगवाका जवाहिर महतो, बारा जिल्ला स्थायी घर भई नगवामा बसोबास गर्दै आएका चन्देश्वर पंडितका २२ वर्षीय छोरा अरविन्द पणित र नगवाकै नयाँ वस्तीका हरेन्द्र पण्डित रहेका थिए ।

नदीमा खसेको बस र यात्रुको खोजी कार्य चलिरहेको भए पनि उनीहरुलाई अहिलेसम्म फेला पार्न सकिएको छैन । २ छोरा, १ छोरी र श्रीमती रहेका जवाहिरले रात्रि बस चलाएर जिविकोपार्जन गर्दै आएका थिए ।

घरको मूली (जवाहिर) नै नरहेपछि परिवार विचल्लीमा परेका छन् । चालकका परिवारसँग भेट गर्दै मेयर सिंहले बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरपालिकाले लिने बताउनुहुँदै जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगर तयार रहेको बताउनुभयो ।

यस्तै शिक्षण अस्पताल काठमाडौँबाट बीएस्सी नर्सिङ पूरा गरि सेवा अवधिका लागि पत्र बुझ्न हिँडेका अरबिन्द पडितका परिवारसँग भेट गर्दै मेयर सिंहले पीडित परिवारको साथमा आफू सँधै रहेको बताउनुभयो । यस्तै नगवा नयाँ टोलका ४५ वर्षीय हरेन्द्र पणितको परिवारलाई पनि मेयर सिंहले भेट गर्नुभयो ।

काठमाण्डौमा फर्निचरको काम गर्दै आएका उनी पनि सोही बसमा गइरहेका थिए । भरतपुर महागनरपालिका वडा नं. २९ सिमलतालस्थित सडकबाट गएको असार २८ गते शुक्रबार बिहान ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको

बागमती प्रदेश ०३९००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस पहिरोसँगै बगेर त्रिशूलीमा बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्