खेलकुद

त्रिकोणात्मक टि–ट्वाण्टीमा नेपालको जित

१४ आश्विन २०८१, सोमबार ११:४४

काठमाडौँ, १४ असोज । त्रिकोणात्मक ट्वान्टी–२० सिरिजमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको छ। तीन वान डे र एक ट्वान्टी-२० मा हारपछि नेपालले बल्ल यस खेलमा जित निकाल्न सकेको हो । लगातार खराब खेलिरहेको नेपालले क्यानडा भ्रमणमा सोमबार पहिलो जित हात पार्न सफल भएको छ ।

किंग सिटीमा भएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । त्यसमा गुल्सन झाले सर्वाधिक ४० रन बनाए । उनले १७ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । उनी नटआउट रहे र ‘प्लेयर अफ द म्याच’ पनि रहे । कुशल मल्लले भने ३० रनको योगदान गरे ।

जवाफमा ओमानले १९।१ ओभरमा सबै विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो । त्यसमा शोएब खानले ३९ बलमा सर्वाधिक ४५ रन बनाए । रफुल्लाहले ३३ रन जोडे । नेपालको बलिङ आक्रमण भने धारिलो रह्यो । करण केसीले तीन विकेट लिए भने कुशल र गुल्सनको नाममा एक–एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस्