खेलकुद

सिस्नेरीको पहिरोमा पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको शव परिवारलाई बुझाईयो

१४ आश्विन २०८१, सोमबार १२:२०

काठमाडौँ, १४ असोज । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा गएको पहिरोमा परी मृत्यु भएका अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका छजना विद्यार्थीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ ।

काठमाडौँस्थित शिक्षण अस्पतालमा शवपरीक्षणपश्चात् मृतकमध्ये अनुमप घलान, साइमन योञ्जन र बाराका बिकल रेग्मीको शव आज बिहान हेलिकप्टरमार्फत हेटौँडा ल्याइएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो । हेडौंडामा जिल्ला खेलकुद विकास समितिले श्रद्धाञ्जलीसभाको आयोजना गरेको छ ।

हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित मैदानमा आयोजित श्रद्धाञ्जलीसभामा मृतकका आफन्त, खेलाडी, खेलप्रेमी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो । प्रमुख जिल्ला अधिकारी चिलुवालले शव अन्त्यष्टिका लागि परिवारजनलाई बुझाइएको बताउनुभयो । घलान र योञ्जनको शव परिवारले बुझेर लगेका छन् ।

बारा निजगढका विकल रेग्मीको शव पनि परिवारले बुझेपछि शवयात्रा सहित निजगढ लगिएको नेकपा माओवादी केन्द्रका युवा नेता रविराज दंगालले जानकारी दिनुभयो ।

होस्टेलमा बसेर मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ टेकरस्थित वत्सला माध्यमिक विद्यालयमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थीमध्ये हेटौँडाका घलान, योञ्जन, बाराको निजगढका रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौँका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको पहिरोमा परी शनिबार मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्