मधेस

जनमतका प्रदेश सांसदले एक दिनको तलब भत्ता बाढीपहिरो पीडितलाई दिने

१५ आश्विन २०८१, मंगलवार १३:०१

वीरगञ्ज,५असोज । मधेश प्रदेशसभामा रहेका जनमत पार्टीका सदस्यहरूले बाढीपहिरोबाट प्रभावितलाई एक दिनको तलब भत्ता बराबरको रकम दिने भएका छन् ।

जनमत पार्टीका तर्फबाट मधेश प्रदेशसभाका सदस्यहरूले राज्यबाट पाउने एक दिनको तलब भत्ता बापतको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जनमत प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।

उनले भने, ’केही दिन अगाडि देशको विभिन्न भागमा बाढीपहिरोबाट भएका धनजनको क्षतिलाई मध्यनजर गरी पार्टीका प्रदेश सांसदहरुले एक दिनको तलब भत्ता पीडितलाई दिने निर्णय गरेका हौँ ।’

संसदीय दलका नेता यादवले सङ्घ सरकारले पूर्वतयारी नगरेकाले अधिकांश ठाउँमा बाढीपहिरोबाट मानिसले ज्यान गुमाउनुपरेको आरोप लगाए । उनले मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

बाढीपहिरोजस्ता विपद्बाट पीडामा परेका परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनी आफूहरूले एक दिनको तलब भत्ता बरारबरको रकम सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ ।
पार्टीको बैठकले बाढीपहिरो पीडितको उद्धार तथा राहत वितरणमा प्रदेशसभा सदस्य तथा जनमत पार्टीका स्थानीय नेता, कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्