मधेस

ज्ञानवाटिका माविमा दीर्घकालिन आर्थिक स्रोत व्यवस्थापनका लागी अक्षयकोष स्थापना

१६ आश्विन २०८१, बुधबार १२:४७

ठोरी,१६ असोज। सुवर्णपुरमा रहेको ज्ञानवाटिका माविले विद्यालयको दीर्घकालिन आर्थिक स्रोत व्यवस्थापनको निमित्त अक्षयकोष स्थापनाको सुरुवात गरेको छ ।

ठोरी गापा –५ मा रहेको विद्यालय प्राङ्गणमा बुधवार आयोजित शुभकामना आदानप्रदान तथा अक्षय कोष उद्घाटन कार्यक्रममा ठोरी गापा अध्यक्ष लाल बहादुर श्रेष्ठले अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको छ ।
विद्यालयको शैक्षिक र भौतिक लगायत पक्षको सुधारको लागि विद्यालयमा आर्थिक स्रोत व्यवस्थापन गर्न रु ५० लाखको अक्षयकोष स्थापना गर्ने अभियान थालिएको हो ।

अक्षयकोषमा स्वेच्छिक दान रकम संकलन गरेर ब्याज रकम विद्यालयको सुधारमा खर्च गरिने कार्यक्रममा जानकारी गराइएको थियो ।कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि गापा अध्यक्ष श्रेष्ठले विद्यालयको सुधारमा पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै गापा उपाध्यक्ष गोकुली कुमारी रेग्मीले अक्षयकोष स्थापना गर्ने अभियानको प्रशंसा गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै अक्षयकोषमा रु ३० हजार व्यक्तिगत सहयोगको घोषणा गर्दै ठोरी –५ का वडाध्यक्ष अष्ट बहादुर लोप्चनले विद्यालयको विकासमा दलीय आस्था नहेर्न सहभागी सबैसंग आग्रह गरे ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस ठोरीका सभापति सन्तोष श्रेष्ठले सामाजिक काम गर्दा आलोचना आउनु स्वभाविक भएको बताउँदै अक्षयकोष स्थापनाको अभियानबाट पछि नहट्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरे ।

सो अवसरमा सभापति श्रेष्ठले रु २५ हजार सहयोगको घोषणा गर्दै निकट भविष्यमा आफुले प्रकाशन गर्न लागेको लेखहरुको संग्रहबाट उठ्ने रोयल्टी रकम समेत कोषमा हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी सोही कार्यक्रममा नेकपा एमाले ठोरीका अध्यक्षले अक्षयकोषको प्रवर्द्धन र विकासका लागि व्यक्तिगत र पार्टीबाट समेत सहयोग गर्ने घोषणा गरे ।

कार्यक्रममा सुवर्ण बचत तथा ऋण सहकारीका अध्यक्ष सुन लामाले रु २५ हजार ५ सय २५ सहयोगको घोषणा गर्नुभयो । विद्यालय व्यस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर नेवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्