समाचार

१९ अक्टुबरभित्र भारत छाड्न क्यानडाका ६ कूटनीतिज्ञलाई निर्देशन

२९ आश्विन २०८१, मंगलवार ११:५४

२९ असोज,काठमाडौं । भारतले क्यानडाका ६ कूटनीतिज्ञलाई निष्कासन गर्नुका साथै आफ्नो उच्चायुक्तलाई फिर्ता बोलाएको छ ।

क्यानडाका कार्यकारी उच्चायुक्त स्टिबर्ट रोस ह्वीलर, उपउच्चायुक्त पेट्रिक हेबर्ट, फर्स्ट सेक्रेटरी मेरी क्याथरिन, इआन रोस डेभिड, एडम जेम्स र पाउला आर्जुएलालाई भारतले निष्कासन गरेको हो। भारतीय विदेश मन्त्रालयले उनीहरूलाई १९ अक्टुबर राति १२ बजेभन्दा अगाडि नै भारत छाड्न निर्देशन दिएको छ । क्यानडामा रहेका उच्चायुक्त सञ्जयकुमार बर्मालाई भारतले फिर्ता बोलाएको छ।

सन् २०२३ मा खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्या हुनुमा भारतको हात रहेको आरोप क्यानाडा सरकारले लगाएपछि दुई देशबीच तिक्तता बढेको हो।

क्यानडाले बर्मा र अन्य भारतीय कूटनीतिज्ञ हरदीप सिंह निज्जरको हत्या प्रकरणमा जोडिएको आरोप लगाउँदै आएको छ। भारतले भने क्यानडाले लगाएको आरोप अस्वीकार गर्दै क्यानडाका ६ कूटनीतिज्ञलाईनिष्कासन गर्ने र आफ्ना कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

‘जस्टिन ट्रुडो नेतृत्वको क्यानडा सरकारको रवैयाका कारण भारतीय कूटनीतिज्ञको सुरक्षा खतरामा परेको छ। हामीलाई क्यानडाको अहिलेको सरकारप्रति कुनै भरोसा छैन’, भारतीय विदेश मन्त्रालयले भनेको छ, त्यसैले भारत सरकारले क्यानडाबाट आफ्ना उच्चायुक्तसहितका अन्य कूटनीतिज्ञलाई फिर्ता बोलाउने निर्णय गरेको छ।’

क्यानडाका प्रधानमन्त्री ट्रुडोले भने राजधानी ओटावामा पत्रकार सम्मेलन गरी हरदीप सिंह हत्यामा भारतीय संलग्न भएको प्रमाण दिए पनि भारतले अनुसन्धान नसघाएको आरोप लगाएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्