मधेस

वीरगञ्जको अलौमा जमेको पानीको निकासका लागि जनपतिनिधि र स्थानीय प्रशासनले पहल थाल्यो

१ कार्तिक २०८१, बिहीबार १३:००

वीरगञ्ज,१ कात्तिक । वीरगञ्ज महानगरपालिकाको १७, २४, २५ र २६ नम्बर वडाको पानी निकासका लागि स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासन सहितको टोलीले पहल थालेका छन् ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसाल, प्रहरी उपरीक्षक कुमोद ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल तथा वडाध्यक्षहरु आज डुबानमा परेको अलौ क्षेत्रमा पुगेर समस्या समाधानको प्रयास गरेका हुन् ।

असोज ११ र १२ आएको अबिरल बर्षापछिको बाढीको उचित निकास नहुँदा वीरगन्ज महानगरको चारवटा वडा डुबानमा परेको थियो ।

सोही डुबानको पानी निकासका लागि असोज २० गते वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहितको टोली र अलौका स्थानीय बीच पानी निकासको विषयमा विवाद भई धक्कामुक्का समेत भएको थियो ।

मेयर सिंह र अलौका स्थानीयबीच हात हालाहालको स्थिति सृजना भएपछि नगर प्रहरीले स्थानीय शिवओम लामिछानेलाई बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै स्थानीयले अलौमा निरन्तर धर्ना बसेका थिए ।
उक्त विवादमा जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले दुवैपक्षलाई बोलाएर सहमति गराउनु भएको थियो ।

त्यसपछि आज फेरी पानीको निकासका लागि मेयर सिंह सहित स्थानीय सुरक्षा अधिकारीहरु अलौमा पुगेर पानीको निकास गरी समस्या समाधान गर्ने उपायको खोजी गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्