राजनीति

सरकार उदासीन भएको निष्कर्ष, ज्ञापनपत्र बुझाउने प्रतिपक्षको निर्णय

२ कार्तिक २०८१, शुक्रबार १३:०१

काठमाडौं ,२ कात्तिक । प्रमुख प्रतिपक्षिसहित प्रतिपक्षी दलहरुले सरकार जनताप्रति उदासिन भएको निश्कर्ष निकालेका छन्। आज नयाँ बानेश्वरमा बसेको बैठकले बाढीपहिरोपछिको उद्धार र राहतमा सरकार उदासीन देखिएको र जनसरोकारभन्दा बढी पार्टीगत स्वार्थलाई प्राथमिकता दिएर अघि बढिरहेको निश्कर्ष निकालिएको हो।

बैठकपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेताले यी बिषयमा सरकारलाई ज्ञापनपत्र बुझाउने समझदारी भएको बताए।

सरकारले गम्भिरता नदेखाए विशेष अधिवेशनको माग गर्ने विकल्पमा समेत छलफल भएको बस्नेतले बताए। यस्तै बैठकमा एमालेले पार्टी कार्यालय बनाउन विवादित व्यवसायी मीनबहादुर गुरुङबाट लिएको जग्गादान र साना दल फुटाउने अध्यादेश ल्याउन भएको तयारीबारे समेत छलफल भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता विराजभक्त श्रेष्ठले पार्टी सभापति रवि लामिछाने पक्राउ परे सशक्त प्रतिवाद गर्ने निर्णय भएको बताए। कानुनी प्रकृयाबाट अनुसन्धानमा सघाउन सभापति तयार भए पनि कर्मचारी र प्रहरी प्रशासनको दुरुपयोग गरेर राज्यले सभापति पक्राउ गर्न खोजे प्रतिवाद गर्ने बताए।

बैठकमा पूर्वप्रधानमन्त्री प्रचण्डले लामिछाने पक्राउ पर्नसक्ने बताएका थिए। बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, महन्त ठाकुर, प्रभु साह, शक्ति बस्नेतलगायत नेता सहभागी थिए।

 

प्रतिक्रिया दिनुहोस्