मधेस

पर्सा प्रहरीले नक्कली भनेर पक्राउ गरेको नोट सक्कली भएको पुष्टि

२ कार्तिक २०८१, शुक्रबार १६:४५

वीरगञ्ज,२ कात्तिक । पर्सा प्रहरीले पक्राउ गरेको भारतीय नागरिकको साथबाट बरामद गरेको नोट सक्कली नै भेटिएको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका–१४ गण्डक चेक पोष्टबाट नक्कली नोट बोकेको आशंकामा एक भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

भारतको विहार राज्यको मोतीहारी ग्राम पञ्चायत रामगढवा नन्दपुर(४ का २० वर्षीय कृष्णकुमार महतोलाई शुक्रबार बेलुकी उनले लिएको एक हजार दरका ४७ थान नोट सहित पक्राउ गरेको थियो ।

प्रहरी चौकी गण्डकबाट खटिएको टोलीले वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको बागमती प्र ०३–००१ ख २१४७ नम्बरको मिनी बसमा चेकजाँच गर्दा महतोले लिएको नोट नक्कली रहेको भन्दै पक्राउ गरेको थियो ।तर, महतोलाई नियन्त्रणमा लिएर उनको साथमा रहेको नोटको परीक्षण गर्दा सक्कली नै भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

प्रहरीले नोट सहित पक्राउ गरेको भारतीय नागरिक महतोलाई रिहा गर्ने प्रकृया अगाडि बढाएको छ । नक्कली हो भन्ने लागेर नोट सहित नियन्त्रणमा लिईएको तर, नोट परीक्षण गर्ने मेशिनमा परीक्षण गर्दा सक्कली नै रहेको पुष्टि भएपछि उनलाई छोड्ने पकृया अगाडि बढाईएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।

प्रतिक्रिया दिनुहोस्