मधेस

वीरगञ्जबाट प्रसारण हुने नारायणी एफ.एम आजबाट १९ औं बर्षमा प्रवेश

४ कार्तिक २०८१, आईतवार १७:४६

४ कात्तिक,वीरगञ्ज ।वीरगञ्जबाट प्रसारण हुने सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज १८ औं पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको छ ।

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल)द्वारा संचालित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहज आजबाट १८ औं बर्ष पूरा गरी १९ औं बर्षमा प्रवेश गरेको हो ।

एफ.एमको १९ औं बार्षिकोत्सवको सुखद घडीमा रेडियोलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पु¥याउन हुने विज्ञापनदाताहरु, रेडियोका श्रोता, सहयोगी तथा शुभेच्छुकहरुमा रेडियो परिवार हार्दिक धन्यवाद दिन चाहन्छौं ।

रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले शुभकामना दिनुहुदै रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पूर्व रेडियोकर्मी साथीहरुप्रति विशेष आभार प्रकट गर्नुभएको छ ।

संस्थाका संस्थापक अध्यक्ष श्री रमेश कुमार भट्टराई, पूर्व अध्यक्ष श्री विजय कुमार सरावगी तथा संस्थापक स्टेशन प्रवन्धक डाक्टर शिवराम तिवारी र उहाँको नेतृत्वमा रहेर रेडियोलाई जनताको मनको रेडियो बनाउन योगदान पु¥याउनु भएका संचालक समितिका पदाधिकारी एवं रेडियोको समग्र व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने रेडियोकर्मी साथीहरुप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

२०६३ साल कार्तिक ४ गते शनिवारको दिन नारायणी एफएम वीरगंजले १०३.८ मेगाहर्जको तरंगबाट प्रशारण शुरु गरेको थियो । रेडियो नारायणीेले स्थापनाकालदेखि स्थानीय विषयवस्तुलाई प्रमुख एजेण्डाको रुपमा समाचार र कार्यक्रममा समावेश गर्दै आएको रेडियो तटस्थ रुपमा रहेर पत्रकारिताको मूल्यमान्यता अनुसार समाचार र कार्यक्रम संचालन गर्न मार्गनिर्देशन गर्ने श्रोतावर्ग र नागरिक समाजप्रति सदैव ऋणी रहिरहने पनि कार्यकारी अध्यक्ष देवकोटाले बताउनु भएको छ ।
स्थानीय सरकार र नागरिकप्रति उत्तरदायी संस्थाहरुलाई तोकेको जिम्मेवारी पुरा गराउने उद्देश्यका साथ ती निकायहरुलाई जवाफदेही बनाउने अभियानमा साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावमा धन्यवाद ज्ञापन पनि गर्नुभएको छ ।

पछाडी परेका समुदायको समस्यालाई मुख्य मुद्दा बनाएर उठान गर्ने, तीन तहका सरकारलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउने, समाजमा विद्यमान परम्परागत हानिकारक कुसंस्कार र कुप्रथा विरुद्ध जनतामा सचेतना एवं जागरुकता पैदा गर्ने खालका विषयवस्तुलाई सामुदायिक रेडियो नारायणी एफएमले समाचार र कार्यक्रममा प्राथमिकता दिँदै आइरहेको छ ।

हाम्रो समाज अहिले पनि अन्धविश्वासको भूमरीमा जकडिएको छ, बोक्सी प्रथा, दाईजो प्रथा, बालविवाह र बहुविवाहको कारण बहुसंख्यक महिलाहरु कुनै न कुनै रुपमा हिंसाको शिकार हुनु परेको छ । संविधान र ऐन कानुनले अपराध करार गरेको विषयलाई परम्परागत संस्कारको रुपमा स्वीकार गर्दा मानव सभ्यतालाई चुनौती दिने गरी छुवाछुतका घटनाले समाजमा विभेद पैदा गरेको छ ।

यस्ता विषयमा सामुदायिक रेडियो नारायणी एफएमले बहस, अन्तरक्रिया र छलफल चलाउदै आइरहेको छ । यस्ता परम्परागत कुसंस्कार र कुप्रथा अन्त्य गर्ने अभियान निरन्तर जारी रहने जनाईएको छ । सामुदायिक रेडियो नारायणी एफएमले स्थानीय भाषाको प्रवद्र्धनका लागि भोजपुरी र मारवाडी भाषामा कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

निकट भविष्यमा मैथिली र थारु भाषाका कार्यक्रमलाई समेत पुनः निरन्तरता दिने प्रण गर्दछौं । स्थानीय भाषा, कला, साहित्य, रीतिरिवाज र संस्कृतिको प्रवद्र्धनका लागि नारायणी एफएमको अभियान जारी नै रहने प्रतिवद्धता जाहेर गर्दछौं ।

 

प्रतिक्रिया दिनुहोस्