प्रदेश समाचार

नारायणी एफ.एम.को बार्षिकोत्सव मंसिरमा विभिन्न कार्यक्रम गरिने

५ कार्तिक २०८१, सोमबार १२:२६

वीरगन्ज, ५ कार्तिक । वीरगन्जबाट प्रसारण हुने सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्जको स्थापना दिवस मनाएको छ । १८ औं पूरा गरी १९ औं वर्षमा प्रवेश गरेको अवसरमा हिजो एफ.एम सञ्चालक समितिका पदाधिकारी र रेडियोका कर्मचारीहरुले स्थापना दिवस मनाएका हुन् ।

सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल)द्वारा संचालित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज २०६३ साल कार्तिक ४ गते शनिवारको दिन परीक्षण प्रशारण शुरु गरेको र मंसिरबाट नियमित प्रसारणमा आएको हो । विगतमा एफएमले बार्षिकोत्सवमा विभिन्न गतिविधिहरु गर्दै आएको बताउदै रेडियोका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले यसबर्ष पनि बार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताउनुभयो ।

उहाँले एफ.एम कार्तिक ४ गते लक्ष्मी पूजाको दिन प्रसारण शुरु गरेको भएपनि बार्षिकोत्सव मंसिरमा मनाउने गरिएकाले यसबर्ष पनि मंसिरमा बार्षिकोत्सव गर्ने बताउनुभयो । स्थापना भएको दिन हिजो केक काटेर दिवस मानाईएको र मंसिरमा भने बार्षिकोत्सव मनाउने भव्य तयारी गरिएको बताउनुभयो । गतबर्ष एफ.एमले स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम मात्रै आयोजना गरेको बताउदै कार्यकारी अध्यक्ष देवकोटाले यसबर्ष पनि रक्तदान लगायतका विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।

यसबर्ष देशमा देखिएको आर्थिक मन्दीले सबैक्षेत्रलाई प्रभावित बनाएको र अहिले तीन तहको सरकार कर्मचारीहरुलाई समेत तलब खुवाउन सक्ने अवस्थामा नरहेकोले स्वभाविक रुपमा रेडियोहरु पनि आर्थिक समस्यामा नै रहेको बताउनुभयो । तथापी नारायणी एफएमले स्थापनाकालदेखि स्थानीय विषयवस्तुलाई प्रमुख एजेण्डाको रुपमा समाचार र कार्यक्रममा समावेश गर्दै आउनुका साथै रेडियो तटस्थ रुपमा रहेर पत्रकारिताको मूल्यमान्यता अनुसार समाचार र कार्यक्रम संचालन गर्न मार्गनिर्देशन गर्ने श्रोतावर्ग र नागरिक समाजप्रति सदैव ऋणी रहिरहने बताउनु भएको छ ।

विपद र संकटको बेलामा नारायणी एफ.एमले सूचना सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको बताउदै देवकोटाले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा विश्व लकडाउनको अवस्थामा रहँदा नारायणी एफ.एमले भने स्टेशनलाई नै आईसोलेशन बनाएर समाचार र सूचना सम्प्रेषण गरेर आफ्नो व्यावसायिक धर्म निभाउनुको साथै विश्वमा इतिहासमै रेकर्ड राख्न एफएम सफल भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्