मधेस

पोलियो उन्मुलनमा साझा दायित्व भएको सरोकारवालाहरुको जोड

६ कार्तिक २०८१, मंगलवार १२:१६

६ कात्तिक,वीरगञ्ज । नेपालमा पोलियो उन्मुलन भएपनि अझै जोखिम भने कायमै रहेको चिकित्सकहरुले बताएका छन् ।

पोलियो भाईरस विरुद्ध जनचेतना जगाउनका लागि रोट्री क्लब अफ वीरगन्ज र रोट्री क्लब अफ मेट्रोपोलिसले आज आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा चिकित्सकहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा नेपाल चिकित्सक संघका उपाध्यक्ष तथा मधेस प्रदेश संयोजक डाक्टर निरज सिंहले पोलियो उन्मुलन भयो भनेर ढुक्क हुनुपर्ने अवस्था नरहेको बताए ।

उनले पोलियोको बारेमा व्यापक जनचेतना फैलाउनुपर्ने र यसमा सञ्चार माध्यमहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

त्यस्तै डाक्टर आनन्द झाले पोलियो भाईरस संसारको जुनुसकै देशमा फेला परेपनि त्यसको जोखिम नेपालमा पनि हुने बताए ।

विश्व भूमण्डलीकरणले गर्दा मानिसहरुको आवतजावतका कारणले पनि पोलियो भाईरस संक्रमणको जोखिम हुने डाक्टर झाको भनाई थियो ।

उहाँले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले नेपाली नागरिकहरुलाई पोलियो भाइरसबाट बचाउनका लागि प्रतिव्यक्ति ३० हजार खर्च गरिरहेकोले यसको उपयोगिता प्राप्त गर्नका लागि हरेक नेपाली नागरिकले दायित्ववोध गर्नुपर्ने बताए ।

त्यस्तै डाक्टर मनोज गुप्ताले पोलियो जस्तो अत्यन्त जोखिमयुक्त भाईरसबाट बचाउनका लागि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले नेपाली नागरिकमाथि गरिरहेको लगानीलाई खेर जान नदिन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पोलियो उन्मुलन सम्बन्धी जनचेतनाका लागि सञ्चार माध्यमहरुले पनि निःशुल्क प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाएका छन् ।

सामुदायिक रेडियोनारायणी एफ.एमका स्टेसन मेनेजर निरज पिठाकोटेले पोलियो उनमुलन अभियानमा सामुदायिक रेडियो पनि साथमा रहेकोले पोलियो उन्मुलन सम्बन्धी प्रचार सामग्री एफ।एमबाट निःशुल्क प्रसारण गरिने घोषणा गरे

त्यस्तै रेडियो पोखरियाका प्रवन्ध निर्देशक शम्भुकुमार सुमनले पनि ग्रामीणक्षेत्रमा जनचेतनाका लागि निःशुल्क प्रचार प्रसार गर्ने प्रतिबद्धता जनाए ।

रोट्री क्लब अफ वीरगन्ज र रोट्री क्लब अफ मेट्रोपोलिसले छपकैयामा रहेको क्लबको आफ्नै सेन्टरमा आज बिहान आयोजना गरेको पोलियो उन्मुलन सम्बन्धी अभिमूखीकरण कार्यक्रममा क्लबले पोलियो उन्मुलन सम्बन्धी आयोजना गर्ने कार्यक्रमको बारेमा पनि जानकारी गराएको छ ।

रोट्री क्लब अफ वीरगन्जका निर्मल खत्री र रोट्री क्लब अफ मेट्रोपोलिसका अध्यक्ष अनिल जयसवालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रमको बारेमा जानकारी दिदै रोट्री क्लबका पूर्व अध्यक्ष अभिषेक चौधरीले पोलियो उन्मुलनका लागि रोट्री क्लबले अन्तराष्ट्रियस्तरमा नै महत्वपूर्ण भूमिका खेल्दै आएको र नेपालमा पनि क्लबले स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा विभिन्न क्रियाकलापहरु गर्दै आएको जानकारी दिनुभयो ।

उहाँले विशेष गरी पोलियो उन्मुलनका लागि रोटरी क्लबले नेपाल सरकारसँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिदँै आउदो अक्टोबर २४ तारिक अर्थात पर्सि ८ गते क्लबले पोलियो विरुद्ध जनचेतनाका लागि विभिन्न कार्यक्रमको आयोजना गर्न लागेको बताउनुभयो ।

उहाँका अनुसार पर्सि ८ गते बिहीबार बिहान नारायणी अस्पतालदेखि घण्टाघरसम्म दौड प्रतियोगिता, लालबंगला अगाडिको खाली ठाउँमा मानव साङलो बनाउने र साँझ ६ बजे घण्टाघरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिने छ । कार्यक्रममा सहभागी हुन सबैलाई आग्रह पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्