राजनीति

पार्टी भित्रका दलाल प्रवृत्तिले माओवादी कमजोर भयो : उपमहासचिव मातृका यादव

७ कार्तिक २०८१, बुधबार १६:५५

७ कात्तिक,वीरगञ्ज । नेकपा माओवादी केन्द्रका उपमहासचि मातृका यादवले पार्टी भित्रका दलाल प्रवृत्तिका नेताहरुले गर्दा पार्टीका शीर्ष नेताहरु र पार्टीलाई बदनाम गर्ने गरेको बताएका छन् ।

पर्साको विन्दवासिनीमा मुकेश चौरसियाको चौथो स्मृतिसभालाई आज सम्बोधन गर्दै मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपालका इञ्चार्ज समेत रहनुभएका नेता यादवले नेताहरुलाई खराब देखाउने पार्टी भित्रका दलाल प्रवृत्तिका व्यक्तिहरुले गर्दा पार्टी कमजोर भएको बताए ।

उनले क्रान्तिकारी जनताहरु कहिल्यै निर्वाचनमा विक्री नहुने बताउदै तीनै दलाल र भ्रष्ट नेताहरुले इमान्दार नेपाली जनताको मत बेच्ने काम गर्दा देश सुधार हुन नसकेको बताए । पूर्वमन्त्री समेत रहेका नेता यादवले नेपालको राज्यसत्ता अझैपनि विभेदकारी भएको बताउदै मधेसीलाई हेर्ने राज्यको दृष्टिकोण अझैपनि फरक रहेकोले वर्गीय समानताको संघर्ष अझै जारी रहेको बताए ।

मुकेश चौरसियालाई सहिद घोषणा नगर्नुमा केन्द्रको नेताहरुमात्रै दोषी नभई स्थानीय नेताहरुपनि जिम्मेवार रहेको बताए । उनले नेपालमा सहिदहरुलाई बेचेर खाने दलाल प्रवृत्तिका व्यक्तिहरु धेरै रहेको र धेरै नेपालका सहिदहरुलाई बेचेर खानेहरु पनि रहेकोले त्यस्ता प्रवृत्तिले मुकेश चौरसिया जस्ता होनहार कार्यकर्ता र उनका परिवारले न्याय नपाएको हुनसक्नेतर्फ सचेत रहन आग्रह गरे ।

मुकेश चौरसियाका पीता रामनाथ चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मधेस प्रदेश संसदीय दलका नेता एवं पूर्वअर्थमन्त्री भरतप्रसाद साह, मधेसी राष्ट्रिय मुक्तिमोर्चाका संयोजक तथा पूर्व सांसद जगत यादव, पार्टीकी केन्द्रीय सदस्य गीता कंडेल, नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटि सदस्य छोटेलाल यादव, शिवशंकर यादव, पर्सा क्षेत्र नम्बर २ का अध्यक्ष अमिताभबच्चन दास लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मूकेश चौरसियाका भाई महेश चौरसियाले आफ्नो दाजुको हत्यारालाई कारवाही नभएको र आफूहरुले अझै न्याय नपाएको गुनासो गरे । हत्याराको पहिचान भएपनि शक्ति र पहुँचको भरमा आफूहरुलाई अझै अन्याय गरेको चौरसियाले बताए । उनले न्यायको लागि अझै आफूले संघर्ष गरिरहेको बताए ।

५१ सदस्यीय मधेसी राष्ट्रिय मुक्तिमोर्चा पर्सा घोषणा

यसैबीच आजै मधेसी राष्ट्रिय मुक्तिमोर्चाको पर्सा जिल्ला समिति घोषणा गरिएको छ । विन्दवासिनीमा भएको मोर्चाको भेलाले विद्यासागर यादवको अध्यक्षतामा ५१ सदस्यीय मधेसी राष्ट्रिय मुक्तिमोर्चा जिल्ला समिति घोषणा गरेको हो ।

समितिको उपाध्यक्षमा दिनानाथ पटेल, शिवनाथ यादव, नरेश यादव, सगिर मियाँ गद्दी, सचिवमा महेश चौरसिया सहसचिवमा गोविन्द चौधरी र कोषाध्यक्षमा मुकेश गुप्तालाई चयन गरिएको छ ।

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा मधेसी मुक्तिमोर्चाका इञ्चार्ज मातृका यादव, केन्द्रीय सदस्य तथा मधेस प्रदेश संसदीय दलका नेता भरत प्रसाद साह, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपालका संयोजक जगत यादव लगायतले अविर र टिका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्