मधेस

विश्व पोलियो दिवसको अवसरमा वीरगन्जमा जनचेतनामूलक र्‍याली

८ कार्तिक २०८१, बिहीबार ११:३३

वीरगञ्ज ,८ कात्तिक। विश्व पोलियो दिवसको अवसरमा वीरगन्जमा जनचेतनामूलक र्‍याली निकाल्नुका साथै मानव साङलो बनाएर प्रदर्शन गरिएको छ ।

वीरगञ्जको नारायणी अस्पतालबाट शुरु भएको जनचेतनामूलक र्‍याली वीरगन्जको घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

रोटरी क्लब अफ वीरगन्ज रोटरी क्लब अफ मेट्रोपोलिसको आयोजनामा निकालिएको जनचेतनामूलक र्‍यालीमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, वीरगञ्ज स्थित भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत देवीसहाय मीणा, पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुमोध ढुंगेल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल लगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी, सुरक्षाकर्मीहरु र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

र्‍याली घण्टाघरमा आएर कोणसभा समेत गरिएको थियो । कोणसभामा बोल्दै वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पोलियो उन्मुलनका लागि अन्तराष्ट्रिय गैरसकारी संस्थाले खेलेको भूमिका सराहनीय रहेको र स्थानीय तहको सरकारको हैसियतले गर्नुपर्ने सहयोग र साथ सधैं रहने बताए ।

कार्यक्रममा बरिष्ठ फिजिसियन डा.निरज सिंहले पोलियो रोगको बारेमा प्रकाश पारेका थिए । कोणसभापछि वीरगन्जको लालबंगला स्थित खाली ठाउँमा मानव साङलो बनाईएको थियो ।‘इण्ड पोलियो’ अर्थात पोलियो उन्मूलन गरौं भन्ने जनचेतनामूलक सन्देश सहितको मानव साङलो निर्माण गरी प्रदर्शन गरिएको थियो ।

नेपालबाट पोलियो उन्मूलन भएपनि यसको जोखिम कायम नै रहेकोले जनचेतना जगाउनका लागि ¥यालीको आयोजना गर्नुका साथै मानव साङ्लो निर्माण गरि प्रदर्शन गरिएको रोटरी क्लब अफ वीरगन्जका अध्यक्ष निर्मल खत्रीले जानकारी दिनुभयो ।

आजै साँझ वीरगन्जको घण्टाघरमा साँझ ६ः०० बजे दीप प्रज्वलन कार्यक्रम पनि रहेको अध्यक्ष खत्रीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्