समाचार

गढीमाई मन्दिरको भेटी गणना : साढे नौ लाख भन्दा बढी नगद र ३३ थान सुनचाँदीको गहना प्राप्त

१४ कार्तिक २०८१, बुधबार १५:२९

१४ कात्तिक । बाराको बरियारपुरमा रहेको गढीमाई मन्दिरको भेटी गणना गरि सकेको छ ।

गणना गरिएको भेटी नौ लाख ६६ हजार ४ सय १३ रुपैंया नगद संकलन भएको छ । त्यस्तै सुनको गहना सात थान, चाँदीको गहना २६ थान भेटीको रुपमा प्राप्त भएको छ । हरेक पाँच बर्षमा लाग्ने विश्व प्रसिद्ध पञ्चबर्षीय मेला अघि मन्दिर सञ्चालन व्यावस्थापन समितिले मन्दिरमा राखिएको चारवटा दानपेटिकाको भेटी गणना गर्दा उक्त परिमाणको नगद, सुनचाँदीका गहना प्राप्त भएको हो ।

प्राप्त नगद मध्य रसिदबाट दुई लाख ३१ ह्जार ७२ रुपैंया संकलन भएको छ । बाँकी दानपेटिकामा चढाईएको नगद रकम ७ लाख ३५ हजार ३ सय ४१ रुपैंया रहेको जनाईएको छ । त्यस्तै पाँच थान सुनको तिलहरी, चार थान चाँदीको आँखा लगायतका गहना रहेको गणनापछि सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ ।

गढीमाई मन्दिर सञ्चालन तथा व्यावस्थापन समितिले २०८१ असोज १७ गतेदेखि कार्तिक १३ गते हिजोसम्म रसिदबाट प्राप्त नगद र जिन्सी रहेको विवरणमा जनाईएको छ । महागढीमाई नगरपालिकाका प्रमुख तथा पञ्चबर्षीय मेला मूल समितिका अध्यक्ष उपेन्द्र यादव, गढीमाई मन्दिर विकास समिति अध्यक्ष रामचन्द्र साह, विरेन्द्र यादव, महेस जैसवाल लगायतको रोहबरमा गणना विवरण सार्वजनिक गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्