मधेस

खानेपानी मन्त्री यादवद्वारा वीरगञ्जको नगवा पोखरी निरीक्षण, सफाइ र व्यवस्थापनमा विशेष जोड

१९ कार्तिक २०८१, सोमबार १२:०४

वीरगञ्ज, १९ कात्तिक । सङ्घीय खानेपानी मन्त्री प्रदीप यादवले महापर्व छठलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नगवा पोखरीको स्थलगत निरीक्षण गर्नुभएको छ ।

छठ पर्वलाई विशेष महत्त्व दिँदै उहाँले पोखरी क्षेत्रको सरसफाइ, सौन्दर्यीकरण, र अधुरा संरचनाहरूको निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।

मन्त्री यादवले पोखरीलाई व्यवस्थित, आकर्षक, र सुरक्षित बनाउन वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूलाई एकजुट भएर काम गर्न निर्देशन दिँदै भन्नुभयो, “छठ हाम्रो सांस्कृतिक पहिचान र आस्थाको प्रतिविम्ब हो । यसलाई गरिमामय र सफल बनाउन वीरगञ्ज महानगरपालिका, धार्मिक सङ्घ–संस्था र नागरिक समाजले एकताबद्ध प्रयास गर्नु जरुरी छ ।” उहाँले सरसफाइ तथा अन्य व्यवस्थापनमा कुनै पनि कमी नगर्न आग्रह गर्दै छठलाई भव्य र व्यवस्थित बनाउनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

छठ पर्व नेपालका विभिन्न भागहरूमा, विशेष गरी मधेस प्रदेशमा, महत्त्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ । चार दिनसम्म चल्ने यस पर्वमा सूर्य उपासनाका लागि हजारौँ भक्तजनहरूले पोखरी तथा जलाशयमा पूजा–अर्चना गर्ने परम्परा छ । यसका लागि पोखरी क्षेत्रलाई पवित्रता, सुरक्षा, र सौन्दर्यका हिसाबले व्यवस्थित बनाउनु अपरिहार्य हुन्छ ।

नगवा पोखरी निरीक्षणका क्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले महानगरपालिकाले छठ पर्वका लागि आवश्यक सबै तयारीहरू गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “महापर्व छठ वीरगञ्ज र मधेस प्रदेशको धार्मिक र सांस्कृतिक धरोहर हो । यसले धार्मिक, सांस्कृतिक, र सामाजिक सद्भावलाई थप प्रगाढ बनाउँछ ।” प्रमुख सिंहले नगवा पोखरीसँगै अन्य छठ घाटहरूको सरसफाइ, सुरक्षा, र अन्य व्यवस्थापन कार्यलाई समयमै पूरा गर्न महानगरपालिकाको सक्रियता रहेको स्पष्ट गर्नुभयो । उहाँले छठ पर्वलाई भव्य बनाउन महानगरपालिकाले हरेक सम्भव सहयोग र व्यवस्थापनका लागि कटिबद्ध रहेको बताउनुभयो ।

निरीक्षण पश्चात् मन्त्री यादव जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ एकाइ कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पनि सहभागी हुनुभएको थियो । उहाँले समाजमा चाडपर्वहरूले भाइचारा, सद्भाव, र सामाजिक एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “चाडपर्व हाम्रो सांस्कृतिक परम्परा र आपसी सद्भावको प्रतीक हुन् । यसले समुदायलाई एकजुट बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पु¥याउँछ ।”

मन्त्री यादवले समाजका हरेक व्यक्तिको सकारात्मक सहभागिताले विकास र समृद्धिलाई तीव्रता दिन सक्ने बताउँदै छठ जस्ता पर्वहरूले समाजप्रतिको दायित्व र सेवा भावलाई प्रोत्साहन गर्ने धारणा राख्नुभयो । उहाँले थप्नुभयो, “छठ पर्वले हाम्रो समुदायमा एकताको सन्देश दिन्छ, जसले हाम्रो संस्कृति र परम्पराको संरक्षण मात्र होइन, राष्ट्रिय एकता र सद्भावलाई पनि बलियो बनाउँछ ।”

कार्यक्रममा जसपाका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्