मधेस

सिमावर्ती भारतीय बजारहरुमा नेपाली उपभोक्ताहरुको भीड, नेपाली बजार सुनसान

१९ कार्तिक २०८१, सोमबार १२:४९

सेढवा  २० कार्तिक। तिहार पछि छठ पर्व शुरु भएसँगै सिमावर्ती भारतीय बजारहरुमा नेपाली उपभोक्ताहरुको भीड बढेको छ।

यता नेपाली बजारहरु सुनसान देखिन्छ। पर्साको ग्रामीणक्षेत्रमा रहेका सिमावर्ती भारतीय बजार भेलाही, सिकटा, मैनाटांड, इनरवा, भंगहा तथा जमुनिया लगायतका बजारहरुमा नेपाली उपभोक्ताहरुको भीड बढेको हो।

नेपाली उपभोक्ताहरु पर्वका लागि भाडा बर्तन, लता कपडा, बासबाट बनेका दउरा सुपली, माटोबाट बनेका कोशी, दियो, ढकना लगायतका सामग्री खरिदका लागि भारतीय बजारमा जाने गरेका छन्। यसका अलावा पर्बकै लागि मैदा, बेशन, आटा, चिनी, खाने तेल, आगरबती, सख्खर लगायतका सामग्री खरिद गर्न भारतीय बजारहरुमा नेपाली उपभोक्ताको भीड देखिन्छ ।

यी बजारहरुमा बिहानैदेखि साँझसम्म भीड हुने गरेको जगरनाथपुर गाउपालिका वडा नं १ का अर्जुन कुमार कुर्मीले बताए। नेपाली बजारभन्दा भारतीय बजारहरुमा सामान सस्तो भएकाले भारतीय बजारनेपाली उपभोक्ताहरुको रोजाई बनेको छ ।

तर पर्साको ग्रामीण बजार सुवर्णपुर, सेढवा, नौकाटोला, सुपौली, सखुवनिया, परसवा, जानकीटोला लगायतका बजारहरुमा खासै चहलपहल देखिएका छैनन्। हप्तामा दुई दिन लाग्ने यी हाटहरुमा हरियो तरकारीको बिक्री बितरण बढी देखिन्छ।

अन्य पसलहरु जस्तै किराना, कपडा, भाडाबर्तन पसलहरुमा खासै चहलपहल नभएको जिराभवानी गाउपालिका वडा नं २ सेढवामा रहेका मातृका किराना पसलका संचालक मातृका महतो थारुले बताए। यी बजारहरुमा हरियो तरकारीको साथै तुरुन्तै आवश्यक परेका सामग्री मात्रै बिक्री हुने गरेको संचालक थारुले बताए। राज्यले खेपिरहेका आर्थिक मन्दीका कारणले आम नागरिकसंग पैसाको अभाव भएकाले पनि खासै पसलमा बिक्री नभएको थारुको भनाई छ ।

हप्तामा दुई दिन हाट लाग्ने यी भारतीय बजारहरुमा दैनिक भीड लाग्ने गरेको छ। यी भारतीय बजारहरुमा नेपाली बजारभन्दा सस्तो दरमा सरसमान पाइने नेपाली उपभोक्ताहरुको बुझाईका कारणले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्