२३ कार्तिक, वीरगञ्ज । उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पवित्रता र शुद्धताका साथ मनाईने लोक आस्थाको पर्व छठ विधिवत रुपमा समापन भएको छ । कार्तिक चतुर्थीदेखि विधिवत रुपमा सुरु भएको सह–संस्कृतिको रुप ग्रहण गर्दै गएको महापर्व छठ अन्तिम दिन आज (शुक्रबार) उदाउँदो सूर्यलाई अर्घ्य दिएर समापन भएको हो ।
छठको मुख्य दिन हिजो साँझ बर्तालुहरुले छठघाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर ब्रतालु रातभर जाग्राम बसी आज बिहानै उदाँउदो सूर्यलाई अर्घ्य दिन छठ पूजा स्थलमा पुगेका थिए । बिहानैदेखि विभिन्न स्थानमा बनाईएको छठ पूजा स्थलमा प्रसाद सहितको दउरी लिएर उदाउँदो सूर्यको पर्खाईमा रहेका ब्रतालुहरु सूर्य उदाएपछि पूजा आरधना गरि छठको समापन गरेका छन् ।
ब्रतालु र भक्तजनहरु पोखरी, नदि, तलाउमा बनाईएको छठ पूजा स्थलबाट सूर्यको उपासना गरि जल छोएर प्रसाद राखिएको दउरी उठाउदै घरतिर लागेका छन् । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले परिवारको सुख, कल्याण र समृद्धि हुने विश्वास रहेको छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ । पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाउन थालिएको छ ।
तराई/मधेसका समुदायको भनेर मानिने छठ पर्व पहाडी समुदायले पनि मनाउन थालेसँगै सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ । । सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ती मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको उल्लेख छ ।
त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको र फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएको उल्लेख छ । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको हो ।