राजनीति

मधेस प्रदेशमा आदिवासी समुदायको लागि छुट्टै निकाय गठनका लागि प्रदेशसभा सदस्यहरुले भूमिका खेल्नुपर्छ : मन्त्री लेखी

२४ कार्तिक २०८१, शनिबार १६:४६

वीरगञ्ज ,२४ कात्तिक । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले प्रदेशमा आदिवासी जनजातिहरुको उत्थान र विकासका लागि छुट्टै निकाय गठन गर्न सकिने बताउनुभएको छ । उहाँले प्रदेशसभाका आदिवासी जनजाति सांसदहरुले पहल गरेर विधेयक ल्याएर एउटा प्रदेशस्तरीय आदिवासी जनजाति विकास परिषद अथवा समिति बनाउन सकिने बताउनु भएको हो ।

वीरगञ्जको रेशमकोठीमा रहेको थारु छात्रावासको चौथो साधारणसभाको उदघाटन गर्दै प्रमुख अतिथि मन्त्री लेखीले मधेस प्रदेशमा सभामुख पनि आदिवासी जनजाति समुदायबाट नै रहेको र गृह, सञ्चार तथा कानून मन्त्री आफै आदिवासी जनजाति समुदायको भएकोले प्रदेशसभाका आदिवासी जनजाति सांसदहरुले जोड गरेमा सरकारी संयन्त्र बनाउन सकिने बताउनु भयो ।

विधेयकका लागि कमसेकम आदिवासी जनजाति सांसदहरु त्यार हुनुपर्छ । सरकारको तर्फबाट आफूले पहल गरेपनि प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभा सांसदहरुले यसतर्फ चासो नदिएकोले नीति निर्माण गर्न नसकिएको बताउनुभयो ।

वीरगञ्जमा रहेको थारु छात्राबास निर्माण जसरी भएको थियो त्यो अनुरुपको विकास गर्न नसकिएको भन्दै उहाँले छात्रावासलाई प्राविधिकहरुको परामर्श र सुझावमा बनाएर व्यावसायिक प्रयोजनमा प्रयोगमा ल्याएर आम्दानीको स्रोत बनाउन सकिने बताउनुभयो । वीरगन्ज औद्योगिक सहर भएकोले थारु छात्रावासलाई पनि व्यावसायिक दृष्टिले भवन निर्माण गर्ने र पार्टी प्यालेस तथा सभाहलको रुपमा विकास गर्न सकिने पनि बताउनुभयो ।

थारु छात्राबास व्यावस्थापन समितिका अध्यक्ष राधेकृष्ण चौधरीको अध्यक्षतामा भएको सधारणसभामा प्रदेश सांसद देवनारायण चौधरी, संविधानसभा सदस्य जयप्रकाश थारु, कोल्हवी नगरपालिकाका प्रमुख राप्रसाद चौधरी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य नन्दनकिशोर पंजियार, पर्सा अध्यक्ष भागवत प्रसाद थारु, बारा अध्यक्ष राप्रसाद चौधरी, रौतहट अध्यक्ष जगन्नाथ चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए । थारु छात्रबासको आजै नयाँ कार्यसमिति पनि चयन गरिने छ । नयाँ कार्यसमिति चयनका लागि अहिले बन्द सत्र चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्