राजनीति

रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी

२६ कार्तिक २०८१, सोमबार १३:०१

२६ कात्तिक,काठमाडौं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि रुपन्देही लैजाने तयारी गरेको छ ।

सहकारीको रकम घोटाला प्रकरणमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले आजै रुपन्देही लैजाने तयारी गरेको हो । सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले उनलाई २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेको थियो ।

त्यसपछि उनलाई अनुसन्धानका लागि पोखरा लगिएकामा पटक–पटक म्याद थप भएको छ । आइतबार मात्रै उनलाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरिदिएको छ । कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरे लगायतको प्रकरणमा अनुसन्धान गरिरहेको छ । रुपन्देही प्रहरीले भने उनीमाथि बुटवलमा रहेको सुप्रिम सहकारी लगायतको रकम अपचलनमा अनुसन्धान गर्न लागेको हो । जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई पक्राउ गर्न अनुमति प्रहरीलाई दिइसकेको छ ।

अदालतबाट अनुमति पाएसँगै रुपन्देही प्रहरीले कास्की प्रहरीलाई रूपन्देहीमा पठाइदिन भनिसकेको छ । सोही प्रकरणमा सम्भव भए आजै उनलाई रुपन्देही लैजाने तयारी छ । उता रवि लामिछाने पक्राउ परेसँगै रास्वपाले आन्दोलन गरिरहेको छ । आफ्ना सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेर अनुसन्धान गरिएको रास्वपाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्