मधेस

नेपाल पत्रकार महासंघको सदस्यता विवाद समाधान गर्न प्रेस सेन्टर पर्साको माग

८ मंसिर २०८१, शनिबार १२:४९

८ मंसिर,वीरगञ्ज । प्रेस सेन्टर नेपाल पर्साले महासंघको सदस्यताको समस्या चाडो समाधान गर्न माग गरेको छ ।

प्रेस सेन्टर नेपाल पर्साको शनिबार बसेको बैठकले नेपाल पत्रकार महासंघको सदस्यताको विवाद टुंगोमा पु¥याउन माग गरेको हो । सदस्यता विवादकै कारणले यसअघि तीन तीन पटक निर्वाचनको मिति घोषणा भएर पनि निर्वाचन हुन सकेको छैन ।

नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय मध्यपुरथिमिको बोडेमा सम्पन्न भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको थियो ।

तर, पर्सा जिल्लामा सदस्यताको विषयमा महासंघले विचार र आस्थाको आधारमा गरेको पक्षपातपूर्ण व्यवहारले प्रेस सेन्टरका धेरै पत्रकारहरु महासंघको सदस्यताबाट बञ्चित हुने भएकोले महासंघको पर्सा शाखाले गरेको निर्णय प्रेस सेन्टर नेपाल पर्साले नमान्ने निर्णय गरेको छ ।

माहासंघ शाखाको पूर्वाग्रहीपूर्ण निर्णयको विरोध गर्दै आपसी, सम्वाद, सहमतिमा नै सदस्यता टुंगो लगाउन माग गरेको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा भक्तपुरको बोडेमा असोज १९ गते शनिबार सम्पन्न भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको थियो ।

त्यही भेलाले सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एकजना प्रतिनिधि र शाखा अध्यक्ष रहने गरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुंगो लगाउने निर्णय भएकोमा पर्सा जिल्लामा पनि सदस्यताको विषयमा महासंघ नेतृत्वले अझै टुंगो लगाउन नसकेको साथै पूरानै विवादित सदस्यता सिफारिस गरेमा त्यसलाई अस्वीकार गर्ने सेन्टरको शनिबार बसेको बैठकले निर्णय गरेको अध्यक्ष दिपक गौतमले जानकारी दिए ।

उनका अनुसार कात्तिक मसान्तसम्म सदस्यता टुंगो लगाउने भनिएपनि पर्सा जिल्लामा प्रेस सेन्टरसँग कुनै छलफल नै नगरी एकलौटी ढंगले सदस्यता सिफारिस गरिएमा त्यो आमान्य हुने निर्णय भएको छ ।
साथै महासंघ शाखा नेतृत्व आफूले संगठनले गर्नुपर्ने साधारणसभाको मुख्य जिम्मेवारी पूरा नगरी अन्य काममा बढी केन्द्रीत भएकोले पर्सा शाखाको साधारणसभाको पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्