जनकपुर,९ मंसिर। जनकपुरमा नेपाली रेड चढ्नेको भीड देखिन्छ। भारतको जयनगरदेखि कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माण गरिएको छ।
नेपालमा रेल पहिलो पटक रेल सन् १९२७ मा आएको हो। भारतमा शासन गरिरहेको बिट्रिश सरकारले नेपालमा रेल ल्याएको थियो।
कोइलाबाट चल्ने सो रेल भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्जसम्म चल्थ्यो। सो रेल सन् १९६५ सम्म चल्यो। यो रेलमार्गको लम्बाई शुरुमा ३९ किलोमिटर रहेको थियो।
नेपाली भूमिमा चलेको दोस्रो रेल जयनगर विजलापुर हो। यो सन् १९३७ मा सञ्चालनमा आएको थियो। यो रेल पनि बिट्रिश भारतीयले सञ्चालनमा ल्याएका थिए। जनकपुर–विजलापुर २२ किलोमिटरको रेलवे ट्र्याक र दुईवटा पुल बाढीले बगाएपछि सन् २००१ बाट रेल सञ्चालन ठप्प भएको छ। यसको लम्बाइ र रेल लिंकको स्तरोन्नति गरेर ब्रोड गेजमा विस्तार गरिएको छ।
यो विस्तार भइसकेकाले यही रुटमा चल्ने गरी नेपालमा तेस्रो पटक रेल आएको हो। यो रेलको इन्जिन भने डिजेलबाट चल्छ। यसअघिका इन्जिन वाष्प इन्जिन थिए। यसलाई जयनगर–जनकपुर–विजलापुर–बर्दिबास ६९ किमिसम्म विस्तार गर्ने तयारी छ। भारतले निर्माण गरिरहेको ६९ किमि रेलमार्गमध्ये तीन किमि भारतीय भूमिमा पर्छ।
५२ किमि दूरीमा सञ्चालन हुने गरेको जयनगर–जनकपुर–विजलापुर रेलको लिंक घट्दै, बाढीपहिरोले बगाउँदै जाने र आवश्यक मर्मत नहुँदा रेलमार्ग विस्तारै बन्द हुँदै गएको थियो। जीर्ण हुँदै गएको २९ किमिको दूरीमा मात्रै चल्ने रेल पनि सात वर्षदेखि बन्द छ।
यही खण्डलाई पुनः मर्मत गरेर र दूरी बढाएर अहिले तत्कालका लागि ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्न खोजिँदै छ। यो दूरी ६९ किमिसम्म हुने गरी काम अघि बढाइएको छ।