राजनीति

जनमतले रंगभेद दिवस मनाईरहँदा जिल्ला सह–इञ्चार्ज भने जसपामा प्रवेश

१० मंसिर २०८१, सोमबार १६:२०

वीरगञ्ज ,१० मंसिर। जनमत पार्टीले पर्सा जिल्लामा रंगभेद विरुद्ध प्रदर्शन गरीरहँदा सोही पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज मूकेश द्विवेदी भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) पार्टीमा प्रवेश गरेका छन् ।

द्विवेदीसँगै जनमत पार्टी परित्याग गरि पार्टीका नेता कार्यकर्ताहरू जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन् । जनता समाजवादी पार्टीका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादवले नवप्रवेशीहरुलाई टीका एवम् माला लगाई स्वागत गरेका थिए।

जनमत पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज मुकेश द्विवेदी, जिल्ला सचिव शशी पाण्डे, महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशी भूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी र वीरगञ्ज महानगरपालिका– १ का ईकाइ सभापति चन्दन साह कानु लगायत जसपामा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गराउदै जसपाका उपमहासचिव समेत रहेका खानेपानी मन्त्री माननीय प्रदिप यादवले जसपामा प्रवेश गर्ने क्रम जारी रहेको र उहाँहरुको प्रवेशले पार्टीको सङ्गठन थप सुदृढ र प्रभावकारी हुने बताए । नवप्रवेशीहरुको अनुभव र ऊर्जाले पार्टीको सिद्धान्तलाई जनतासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा महानगरका नगर प्रमुख राजेशमान सिंह एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पदाधिकारीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। द्विवेदी विद्यार्थी राजनीतिमा नेपाली कांग्रेस निकट रहेका थिए । उनी ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियुको निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारबाट सभापतिमा निर्वाचित भएका व्यक्ति हुन् । स्ववियु सभापति भएकै बेला उनी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

त्यसपछि उनी तत्कालिन प्रदीप यादव रहेकै पार्टी हालको उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा प्रवेश गरेका थिए । जसपा नेपालमा प्रवेश गरेर वीरगन्ज महानगरपालिकामा जसपा नेपालबाट मेयरमा निर्वाचित विजय कुमार सरावगीको राजनीतिक सल्लाहाकारका रुपमा काम गरे ।

तत्कालिन जसपा नेपाल पार्टीमा मेयर विजय सरावगी र प्रदीप यादवबीच आन्तरिक विवाद बढेपछि द्विवेदी सरावगीतिर लागेका थिए । सरावगीसँग रहँदा त्यसपछि उनी सरावगीसँग अलग भएर राजेशमान सिंहसँग लागे । उनी मेयर सरावगीकै चर्को आलोचक र विरोधी बन्न पुगे ।

राजेशमानसिंह महानगरको मेयरमा निर्वाचित भएपछि पुनः द्विवेदी सिंहसँगपनि टाढा भए । त्यसपछि उनी लगायत शशि कपुर मियाँ, करिमा बेगम, सुधिरनाथ पाण्डे सहित जनमत पार्टीमा प्रवेश गरेका थिए । जनमतमा पनि उनी स्थिर बस्न नसकेपछि पुनःउपेन्द्र यादवबाट विभाजित दल जसपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्