वीरगञ्ज,१० मंसिर । बिभिन्न कारण देखाई बन्द गरिएको पर्साको बहुदरमाई नगरपालिकाको वडा कार्यालय लगायतको सेवा सुचारु गर्न मेयर सिँगासन साह तेलीले निर्देशन दिएका छन ।
आज एक सुचना जारी गर्दै उनले वडा कार्यालय,स्वास्थय चौकी, तथा बिधालय लगायत बन्द रहेका कार्यालयहरुमा कामकाज गर्न गराउन निर्देशन दिएका हुन । वडा कार्यालयको लिखित तथा मौखिक आदेशबाट शिक्षक तथा कर्मचारीको तलब र आवश्यक दैनिक कार्यालय संचालनको सामग्री अभाव जस्ता कारण देखाई बन्द गरिएको व्यहोरा नगरपालिकालाई विभिन्न माध्ययमबाट अवगत भएको पनि सुचनामा जनाइएको छ ।
नगर प्रमुख तथा शिक्षक कर्मचारीसँग भएको सम्झौता अनुरुप तलब निकासा तथा दैनिक कार्यालय संचालनका आवश्यक सामग्रीहरु व्यवस्थापनको लागि नियमित पहल भइरहेको र चांडै समाधान हुने प्रति विश्वस्त रहन सबैमा मेयर तेलीले सुचनामार्फत अनुरोध गरेका छन ।
साथै धैर्यताका साथ सर्वसाधारणको नियमित सेवा अवरुद्ध नहुने गरि कामकाज गर्न गराउन हुन समेत उनले अनुरोध गरेका छन । नगरसभाको निर्णय प्रमाणित गरी खाता सञ्चालनको माग गर्दै अधिकांश वडा अध्यक्षहरुले वडा कार्यालय आईतबारदेखि बन्द गरेका थिए ।
नगरपालिकाले तिन महिना भन्दा पनि बढी ढिलो गरि चालु आव ०८१÷८२ को बजेट ल्याएको भएपनि हालसम्म नगरपालिकाको खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरुले तलब भता पाउन सकेका छैनन ।पालिकामा हुने बिकाश निर्माणका कार्य समेत ठप्प रहेका छन ।