मधेस

फिरौती मागेको आरोपमा पक्राउ परेका दुईजनालाई सात दिनको म्याद थप

१० मंसिर २०८१, सोमबार १८:१२

वीरगञ्ज,१० मंसिर । अपहरण गरी फिरौती माग गरेको आरोपमा पक्राउ परेका दुईजनालाई सात हिरासतमा राखेर अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले अनुमति दिएको छ ।

रौतहट कटहरिया नगरपालिका वडा नं.६ बस्ने वर्ष ४१ को शेख सा महमदले आफूलाई अपहरण गरी फिरौती रकम माग गरेको व्यहोराको निवेदन जिल्ला प्रहरी कार्यालय पर्सामा दिएका थिए ।

सोही निवेदनको आधारमा अनुसन्धान गर्न खटिएको प्रहरी टोलीले अपहरित शेख सा महमदसँग फिरौती वापतको रकम लिदै गरेको अवस्थामा वीरगञ्ज १६ नगवाका ३० बर्षीय संतोष दास तत्मा र ३१ बर्षीय हरिशंकर शर्मालाई पक्राउ गरेको थियो ।

उनीहरूलाई फिरौती रकम ५० हजार नगद सहित अपहरणमा प्रयोग गरेको मधेश प्रदेश ०३–०२५ प ३९८० नम्बरको निलो २२० सीसीको पल्सर र रातो कालो रंगको बीआर ० ५ एयु ९७४५ नम्बरको बजाज कम्पनीको एनएस मोटरसाईकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले दावी गरेको छ ।

पक्राउ परेकाहरुलाई पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसूरमा सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्