वीरगञ्ज ,१२ मंसिर। नागरिक समाज र सञ्चारकर्मीहरुबीचको समन्वय अभावले नागरिकमा मुद्दा र आवाजहरु हराउदै गएको सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । नागरिकहरुको आवाज बोल्ने नागरिक समाज र सञ्चारक्षेत्रको भूमिका संकुचित हुदै गएकोमा चिन्ता व्यक्त गरिएको हो ।
हाम्रो अभियान पर्साले आयोजना गरेको ‘वीरगन्ज विमर्श’ कार्यक्रममा सहभागी वक्ताहरुले सामाजिक मुद्दाहरुको उठान गर्ने नागरिक समाज र सञ्चारकर्मीहरु एकठाउँमा हुन नसक्दा नागरिकहरुको बोली नै हराएको अवस्था रहेको औंल्याएका थिए ।
मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले नागरिकको लागि गर्ने दायित्व राज्यको हो । राज्यलाई घच्घच्याउने नागरिक समाज र सञ्चारकर्मीहरुले दलीय राजनीति गर्नु हुदैन ।
नैतिक धराधलमा टेकेर पत्रकारिता गरेमात्रै उठान गरिएका मुद्दाहरु बलियो हुने र त्यसलाई सशक्त रुपमा उठाउन नागरिक समाजले गर्ने हो । तर, गलत सूचनाले गर्दा नागरिक समाज र सञ्चारकर्मीहरुबीचको सम्बन्धमा दूरी ल्याउन काम भएको बताए ।
मधेस विश्व विद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक शाक्यले आन्दोलनलाई उठान गर्ने नागरिक समाजले गर्ने र त्यसलाई स्थापित गर्ने काम सञ्चारकर्मीहरुले सशक्त रुपमा उठाएर गर्दा राजनीतिक दलहरु साथमा आउने बताए । उनले पहिलेको जस्तो नागरिक समाज र सञ्चारकर्मीहरु नभएको बताउदै अब दलका नागरिक समाज, दलका पत्रकार भएर सम्बन्ध बलियो नभएको बताए ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले पत्रकारितामा सामाजिक जवाफदेहिता हुनुपर्ने बताए । पत्रकारितामा सबैभन्दा बढी हुने स्रोत भनेको आलोचनात्मक चेत हो ।त्यसैले पत्रकारितामा गलत भएको छ भने सच्याउने मौका पनि हुने बताउदै पेशागत हिसाबले शुद्धता हुनुपर्ने बताए ।
नागरिक समाज र सञ्चार कार्यक्रमको मधेश प्रदेश प्रमुख , रोशन झाले नागरिक समाजको परिभाषा अनुसारको काम हुन नसकेको र सञ्चार माध्यमहरुको पनि आफ्नो विश्वसनीयता र व्यावसायिकतामा अभाव हुदै गएको बताउनुभयो वीरगन्जको पानीटंकी स्थित बीपीसी कलेजमा भएको कार्यक्रमको सहजीकरण हाम्रो अभियानका अध्यक्ष शिवनाथ यादवले गर्नुभएको थियो ।