काठमाडौं,१३ मंसिर । सामूदायिक रेडियोहरूको छाता संगठन सामूदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ। देशै भरि संचालित सामूदायिक रेडियोहरूको व्यवसायिक क्षमता अभिबृद्धि र वित्तिय श्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुबै सस्था बीच सहमति भएको हो।
संघको केन्द्रिय कार्यालय ललितपुर चाकुपाट स्थित कार्यालयमा मिति २०८१ मंसिर १३ गते सम्झौता भएको हो। सम्झौता पत्रमा सामूदायिक रेडियो प्रसारक संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रवन्ध संचालक रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।
सामूदायिक रेडियो प्रसारक संघ, देशैभरि संचालित गैर नाफामूलक सामूदायिक रेडियोहरूको छाता संगठन हो। संघको नेटवर्कमा अहिले ३५० वटा भन्दा बढी रेडियोहरू आवद्ध छन्।
संघले आफ्ना सदस्य रेडियोहरूको सुसंचालन, वित्तीय श्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आईरहेको छ। संघ अन्तर्गत आफ्नै सामूदायिक सुचना नेटवर्क (सीआईएन) र अनलाईन पोर्टल अष्लपजबदबच।अय संचालित छ।
संघले बिहान बेलुका ३५० वटा रेडियोहरूबाट समाचार प्रसारण गर्दै आईरहेको छ। संघले बिभिन्न एनजिओ, आइएनजीओहरूसंगको सहकार्यमा समुदाय लक्षित सूचनामूलक, जनचेतना मूलक र जीवन स्तर उकास्ने किसिमको सामाग्री निर्माण गरि ३५० वटै सामूदायिक रेडियो मार्फत प्रसारण गर्दै आईरहेको छ ।
नेक्सजेन म्यानेजमेन्ट २०८१ बैशाख देखि बिशेषज्ञ सेवा दिने गरि संचालित कम्पनी हो। यसले सम्पत्ति व्यवस्थापन सम्बन्धी काम र व्यवसायिक परामर्श दिने काम गर्छ। छोटो अवधिमा यसले देशी बिदेशी कम्पनीहरूसँग सम्झौता र सहकार्य गरि सेवा दिंदै आएको छ।
आर्थिक मन्दीको कारण वित्तीय श्रोतको व्वस्था नहुँदा धेरै रेडियोहरू क्रमशः समस्याग्रस्त हुंदैछन। सामूदायिक रेडियो प्रसारक संघको लागि वित्तीय श्रोतको व्यवस्थापन तथा समस्याग्रस्त सदस्य रेडियोहरूको प्रभावकारी संचालनमा सहयोग र सहकार्य गर्नेगरि संघ र नेक्सजेनबीच सम्झौता भएको अकोराबका बरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।