वीरगञ्ज,१६ मंसिर । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले समाजमा सही र गलत छुट्याउन सक्ने विवेक हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै पूर्व प्रधामन्त्री समेत रहेका नेपालले सबैकुरा खराब मात्रै भन्दै जाने हो भने त्यसले निराशा पैदा गर्ने बताउदै बिग्रिएको सबै चिजको गम्भीर समिक्षाको आवश्यकता रहेको बताए ।
पत्रकारिता जगतले देशको बिग्रिएको परिस्थितिलाई सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै जे तथ्य हो त्यहि नै सत्य भएकोले त्यो भन्दा अरु सबै कुरा गलत हुने तर्क गरे । राज्य र समाजबाट समेत निरुत्साहित बनाउन चालिएका कदमहरुले पत्रकारिता क्षेत्रलाई निराश बनाएको विषय प्रसँगहरु आएको भन्दै आन्तरिक समस्याहरु भए संवाद र छलफलको माध्यमबाट निकास निकाल्न सकिने बताए ।
एकले अर्काको अस्तित्व अस्वीकार गर्ने ढंगबाट गएमा त्यसले बेग्लै परिस्थितिको सृजना गर्ने बताउदै अध्यक्ष नेपालले भने, ‘हामी सबैलाई अधिकार चाहिने तर, कर्तव्यको बोध गर्दैनौं भने राम्रो गर्नेहरु पनि उस्तै, विगार्नेहरु पनि उस्तै, अवसरवादी पनि उस्तै खराब पनि उस्तै भन्ने धारणा बनायो भने त्यसले राम्रो परिणाम दिदैन । समाजको यथार्थको चित्रण गर्ने महत्वपूर्ण क्षेत्र, जनतालाई सुसूचित गर्ने माध्यम हो पत्रकारिता ।
जनतालाई खराबै खराब मात्रै सूचना नदिनुस्, राम्रा कामहरु पनि सुनाउनुस ।’ एउटा राम्रो कुराले मान्छेलाई प्रेरित गर्छ त्यसैलै राम्रा गर्नेहरुलाई खोजी खोजी सम्मान गर्ने गरिने गरेको बताए । जता फाईदा भयो त्यतै लाग्ने नेपाली प्रवृत्ति रहेको भन्दै उनले आवश्यकताको आधारमा केहीपनि नगर्दा समस्या हुने बताए ।
पत्रकारिता पुरस्कार केन्द्रीय सदस्य पटेललाई प्रदान
समाजवादी प्रेस संगठन पर्साले स्थापना गरेको पुरस्कार पत्रकार मनोज पटेललाई प्रदान गरिएको छ । स्व.नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा पत्रकार पटेललाई संगठनको तर्फबाट २१ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य पटेललाई नगद राशि सहित दोसल्ला ओढाएर सम्मान गरे । सम्मान अघि संगठनका पर्सा अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको कार्यक्रममा स्व.पत्रकार नरेश सर्राफको तस्वीरमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिए ।
कार्यक्रममा संगठनका केन्द्रीय सदस्य विश्वमणी सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्री सचिव दीपेन्द्र चौहान, मधेस प्रदेशका महासचिव श्याम बञ्जरा लगायत पर्साका विभिन्न पत्रकार संगठनका अध्यक्षहरुले पनि शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन श्याम सर्राफ र स्वागत बृजलाल पासवानले गरेका थिए ।