वीरगञ्ज ,१९ मंसिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पर्सा जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको छ ।
वीरगञ्ज महानगरपालिका–६ आदर्शनगरमा रहेको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको प्रकरणमा अनुसन्धान गर्न रविलाई पक्राउ अनुमति दिइएको हो ।सानो पाइलाबाट गोर्खा मिडियामा साढे ८ करोड रूपैयाँ लगेर अपचलन गरेको देखिएको छ । पर्सा प्रहरीका अनुसार सानो पाइलाबाट गैरकानूनी रूपमा रकम सार्दा गोर्खा मिडियामा रवि लामिछाने प्रबन्ध निर्देशक थिए ।
पर्सा प्रहरी स्रोतका अनुसार हालैमात्र लामिछाने, छविलाल जोशी, जीबी राईसहित १४ जनालाई पक्राउ गर्न जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको छ । गत कात्तिक २ मा पक्राउ परेका लामिछानेको हाल चितवनमा बयान भइरहेको छ ।
सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार ग्लोबल आईएमई बैंकमा रहेको गोर्खा मिडियाको खातामा सानो पाइलाबाट सात पटक गरी आठ करोड ५८ लाख ४४ हजार रूपैयाँ जम्मा गरिएको थियो ।
२०७८ साउन १९ मा एकै दिन चार करोड ९१ लाख ९४ हजार रूपैयाँ सारिएको थियो । अरू रकम २०७८ वैशाख ५ देखि २०७९ साउन १९ सम्ममा सारिएको हो । संसदीय छानबिन समितिलाई दिएको बयानअनुसार लामिछाने २०७७ माघ १ देखि २०७९ असार १ सम्म गोर्खा मिडियामा प्रबन्धक निर्देशक थिए ।
सानो पाइलाका बचतकर्ताले एक वर्षअगाडि उजुरी दिँदा गोर्खा मिडियामा सहकारीबाट रकम सारिएको प्रमाण फेला परेको थिएन । संसदीय छानबिन समितिले प्रतिवेदनमा सानो पाइला सहकारीबाट पनि गोर्खा मिडियामा रकम सारिएको उल्लेख गरेपछि बचतकर्ताले प्रहरीलाई थप अनुसन्धान गर्न अनुरोध गरेका थिए ।
सानो पाइला सहकारीको बचत हिनामिनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरी प्रमुख, एसपी कुमोद ढुंगोलले बताए । ‘मुद्दा यसअघि नै अदालत गइसकेको छ,’ उनले भने, ‘थप आएका जाहेरीमा अनुसन्धान भइरहेको छ ।’
एक वर्षअगाडि सानो पाइला सहकारीका १७९ बचतकर्ताले संस्थाका सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीविरुद्ध उजुरी दिएका थिए । तत्कालीन समयमा प्रहरी अनुसन्धानपछि जिल्ला अदालत पर्सामा मुद्दा दायर गरिएकामा सानो पाइला सहकारीकी पूर्वउपाध्यक्ष नेहा पौडेल गत साउन २१ मा एक करोड १० लाख रूपैयाँ धरौटीमा रिहा भएकी थिइन् ।
सहकारीका कर्मचारी राधेचन्द्र यादव पनि ३५ लाख रूपैयाँ धरौटीमा रिहा भए । प्रहरीका अनुसार सानो पाइला सहकारीका अध्यक्ष अनन्तबाबु राई, सचिव देवेन्द्रबाबु राई, प्रबन्धक असरफ अली सिद्धिकी, संरक्षक गीतेन्द्रबाबु (जीबी) राईलगायत ११ जना फरार छन् । कोषाध्यक्ष कुमार रम्तेल भने पुर्पक्षका लागि थुनामा छन् ।