मधेस

पर्सा प्रहरीले २ करोड ९ लाख भन्दा बढीको सामान सहित दुईट्रक राजस्वमा बुझायो

२० मंसिर २०८१, बिहीबार १५:२२

२० मंसिर,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले दुई करोड ९ लाख बराबरको हार्डवेयर र औषधि सहितको दुई वटा ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

विल विजक भन्दा बढी सामान लोड गरेको विशेष सूचनाको आधारमा गएराति वीरगञ्ज महानगरपालिका वडा नं.१५ प्रतिमा चौकबाट ना.४ ख ९८५१ र प्रदेश.२–०३–००१ ख ६५५७ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।

वीरगञ्जबाट हार्डवेयर र औषधि सामानहरु लोड गरी काठमाडौं र विराटनगर लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विल विजक भन्दा बढीका सामान रहेको आशंका ट्रक नियन्त्रणमा लिएको हो ।

नियान्त्रणमा लिईएको ट्रकमा रहेको सामानको मूल्य २ करोड ९ लाख ८ हजार ८४२ मूल्यांकन गरी थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्