काठमाडौं ,२३ मंसिर। सिरियामा विद्रोही समूहले राजधानी दमास्कसमा कब्जा गरेको बताएको छ । विद्रोहीले राष्ट्रपति देश छोडेर भागेको पनि दाबी गरेका छन् । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल–शामले भनेको छ – ‘तानाशाह राष्ट्रपति बसर अल–असद देश छोडेर भागेका छन् र सिरिया अब स्वतन्त्र भएको छ।’
विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ सुरुवात भएको दाबी गरेको छ । विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने बताएका छन्।
विद्रोहीहरूले भनेका छन् ‘यो नयाँ सिरिया हुनेछ जहाँ सबैले शान्तिमा बस्न सक्नेछन् र न्यायले शासन गर्नेछ।’ यसअघि समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असदले दमास्कस छाडेको बताएको थियो तर उनी कहाँ गएका छन् भन्ने स्पष्ट भइसकेको छैन।
समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असदले अज्ञात गन्तव्यको लागि विमानबाट दमास्कस छोडेको जानकारी दिएको हो। विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएएस) दमास्कसतर्फ अघि बढिरहेको र राष्ट्रपति बसर अल–असदले राजधानी छोडेको खबर आएको हो।
विद्रोहीहरूले सैदनाया जेलबाट हजारौं कैदीहरूलाई रिहा गरेको बताएका छन्। यस जेलमा असदका विपक्षीहरूलाई यातना दिइएको थियो। इरान समर्थित हिजबुल्लाहले सिरियाका केही क्षेत्रबाट आफ्ना लडाकुहरूलाई फिर्ता लिएको बताएको छ। यसअघि विद्रोहीले सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरेका थिए ।
विद्रोही समूह एचटीएएसले केही समयपछि टेलिभिजनमा आम जनतालाई सन्देश प्रसारण गर्ने बताएको छ । यसअघि आइतवार समूहले दमास्कसको रेडियो र टेलिभिजन मुख्यालयलाई नियन्त्रणमा लिएको बताएको थियो । विद्रोहीले यहाँबाट आफ्नो विजयको घोषणा गरिने वताएका छन् ।
विद्रोही राजधानी दमास्कसमा प्रवेश गरेपछि सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको छ । रिपोर्टहरूका अनुसार, मानिसहरू दमास्कसको बीचमा उम्मेद स्क्वायरमा उत्सव मनाइरहेका छन्। यस चोक वरपर धेरै सरकारी भवनहरू छन्।
दमास्कस कब्जा गरेपछि विद्रोही समूह हयात तहरीर अल–शामले सिरियाली राष्ट्रपति बसर अल–असदले देश छोडेको दाबी गरेको छ । विद्रोहीले अब प्रधानमन्त्रीले सार्वजनिक संस्थाको नियन्त्रण आफ्नो हातमा लिने बताएका छन् ।
हयात तहरीर अल–शामले आफ्नो टेलिग्राम च्यानलमा भनेअनुसार सैन्य बलहरूलाई हाल दमास्कसमा अवस्थित सार्वजनिक संस्थाहरू नजिक जान प्रतिबन्ध लगाइएको छ।
समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल–असद दमास्कसबाट विमानबाट अज्ञात गन्तव्यतर्फ प्रस्थान गरेको जनाएको छ।