समाचार

राष्ट्रपति असद सिरियाबाट भागेर रूस पुगे, पुटिनले राजनीतिक शरण दिए

२४ मंसिर २०८१, सोमबार ११:४३

२४ मंसिर,काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असद देश छोडेर रुस गएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले असद र उनको परिवारलाई राजनीतिक शरण दिएका छन्।

यसअघि असदको विमानको राडार सम्पर्क टुटेको र विमान दुर्घटनाको सम्भावना रहेको अनुमान गरिएको थियो तर अब बसर अल असद रुस पुगेको पुष्टि भएको छ। अर्कोतर्फ, सेनाले असदले देश छोडेको पुष्टि गर्दै राष्ट्रपतिको शक्ति समाप्त भएको बताएको छ।

सिरियामा विद्रोही समूह र सेनाबीच विगत ११ दिनदेखि चलिरहेको लडाइँमा आइतबार विद्रोही लडाकुहरूले राजधानी दमास्कसलाई आफ्नो नियन्त्रणमा लिएका छन् र सडकमा गोली चलाएर विजयको उत्सव मनाइरहेका छन्।

सिरियाको लताकियाबाट उडेको असदको विमान मस्को पुगेको जानकारी फ्लाइट ट्र्याकरबाट प्राप्त भएको छ । फ्लाइटराडर वेबसाइटको तथ्याङ्क अनुसार आइतवार रूसी सैन्य विमान लताकियाबाट उडेको थियो र मस्को पुगेको थियो।

रसियाले आइतबार सिरियाली राष्ट्रपति बसर अल असदले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणको आदेश दिएपछि राजीनामा दिएको र देश छोडेको बताएको छ । रुसले सिरियाको लताकिया प्रान्तमा रहेको हमिमिम एयर बेस सञ्चालन गर्छ, जुन विगतमा विद्रोहीहरू विरुद्ध हवाई आक्रमण गर्न प्रयोग गर्दै आएको छ। अर्कोतर्फ, सिरियाली सेनाले असदले देश छोडेको पुष्टि गर्दै राष्ट्रपतिको शक्ति समाप्त भएको बताएको छ।

सिरियामा विद्रोह २०११ मा सुरु भएको थियो, जब असद सरकारले प्रजातन्त्र समर्थक प्रदर्शनहरूलाई क्रूरतापूर्वक दबाएको थियो । यो द्वन्द्व बिस्तारै गृहयुद्धमा परिणत भयो जसमा असद सरकारको विरुद्धमा धेरै विद्रोही समूहहरू खडा भए। अन्ततः, यो १३ वर्षको संघर्षले असद शासनलाई पतन गरायो। दमास्कस कब्जा गरेर विद्रोही समूहहरूले असद सरकारलाई मात्र हटाएनन्, सिरियाली जनतालाई नयाँ सुरुवातको मौका पनि दिए।

यस घटनाले असद शासनको अन्त्य भएको संकेत गरे तापनि सिरियाका लागि चुनौतीहरू थपिएका छन् । राजनीतिक स्थायित्व कायम गर्ने, द्वन्द्वग्रस्त अर्थतन्त्रलाई पुनरुत्थान गर्ने र विस्थापित नागरिकहरूलाई स्वदेश फर्काउने ठूलो जिम्मेवारी मुलुकले सामना गरेको छ । यसबाहेक विद्रोही समूहबीच शक्ति बाँडफाँड र चरमपन्थी संगठनको प्रभावलाई रोक्नु पनि प्रमुख चुनौतीहरू हुन् ।

 

प्रतिक्रिया दिनुहोस्