खेलकुद

एनपीएल क्रिकेट : सुदूरपश्चिमसँग जनकपुरको लज्जास्पद पराजय

२६ मंसिर २०८१, बुधबार १२:४६

२६ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित ग¥यो।

सुदूरपश्चिमको बलिङ आक्रमणसामू जनकपुरको ब्याटिङ चल्न सकेन। सुरुवात देखि नै विकेट गुमाएको जनकपुर १२.१ ओभरमा ५१ रन बनाएर अलआउट भयो।

एक सय २४ रनको लक्ष्य पछ्याएको जनकपुरले जारी एनपिएलकै सर्वाधिक कम रन बनायो। जनकपुरका जोशुवा ट्रम्प बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ट्रम्पले १३ रन बनाएर आउट भए।

सुदुरपश्चिमका हरमित सिंह, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान दुई दुई विकेट लिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदुरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय २३ रन बनाएको थियो। सुदुरपश्चिमका लागि बिनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। यस्तै सेफ जैबले २१, इशान पाण्डेले १७ तथा ब्राण्डन म्यामुलेनले ११ रन बनाए।

जनकपुरका लागि किशोर महतोले ४ विकेट लिए। शेल मल्ल र अरनिको यादवले समान दुई दुई विकेट लिए भने हर्ष ठाकेरले एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्