खेलकुद

लिग चरणको अन्तिम खेल चल्दाचल्दै कर्णाली प्लेअफमा काठमाडौं बाहिरियो

१ पुष २०८१, सोमबार १२:२४

१ पुष,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लिग चरणको अन्तिम खेल चल्दाचल्दै कर्णाली याक्स प्लेअफमा पुग्ने निश्चित भएको छ । यससँगै काठमाडौं गुर्खाज प्रतियोगिताबाट बाहिरिएको छ ।

काठमाण्डु गुर्खाजका लागि प्लेअफ पुग्ने झिनो सम्भावना थियो । कर्णालीको नेट रनरेट काठमाण्डुको भन्दा कम भएको अवस्थामा काठमाण्डु प्लेअफमा पुग्न सक्थ्यो । तर अब त्यो सम्भावना सकिएको छ ।

आजको खेलमा कर्णालीले सुदूरपचिम रोयल्सलाई जितको लागि १०२ रनको लक्ष्य दिएको छ । यो लक्ष्य सुदूरपश्चिमले १३ ओभरभित्र भेट्टाउन सकेको भए काठमाण्डु प्लेअफ पुग्न सक्थ्यो । तर, १३ ओभरमा सुदूरपश्चिमले ७७ रन मात्र बनाउन सक्यो ।

अब अहिले चलिरहेको खेलको नतिजा जेसुकै भए पनि खेलिरहेका दुवै टिम सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स प्लेअफ पुगेका छन् । यी दुईबाहेक जनकपुर बोल्ट्स र चितवन राइनोज पनि प्लेअफ पुगेका छन् । प्लेअफका खेल पर्सी बुधबारदेखि सुरु हुनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्