राजनीति

त्रिविको जग्गा हिनामिना गर्ने जोकोहीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

३ पुष २०८१, बुधबार १२:०३

३ पुष,काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना गर्नेलाई कारवाही गर्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोगले प्रतिवेदन बुझेपछि तथ्यका आधारमा कारवाही प्रक्रिया अघि बढ्ने बताए।

प्रतिवेदन बुझेलगत्तै ओलीले त्रिताल आयोगले ललिता निवासको छानबिन गरेको प्रसंग सम्झिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फ २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेको र त्यसमा आफूहरु सफल भएको उनको भनाइ छ।

‘२०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौं। ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ । त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बन्यो। आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ। शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’ ओलीले भनेका छन्।

त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने प्रधानमन्त्री ओलीले प्रतिवद्धता समेत जनाएका छन्।

‘त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन्। आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ। हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ’ उनले भनेका छन्।

सरकारले गत जेठ १८ मा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा त्रिविको जग्गा खोजबिन समिति बनाएको थियो। तर त्रिताल अस्वस्थ भएपछि समिति सदस्य महेन्द्रकुमार थापालाई संयोजक बनाइएको थियो। समिति सदस्यमा जानकीबल्लभ अधिकारी र प्रेम सागर चापागाईँ थिए।

प्रतिक्रिया दिनुहोस्