४ पुष, सेढवा । पर्साको ग्रामीण भेगका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका इनारहरु लोप हुदै गएका छन्। बिगतमा खानेपानी तथा अन्य प्रयोजनका लागि बनाईएका इनारहरु अहिले पुरिदै गएका हुन्।
इनारबाट प्राप्त हुने पानीले सर्वसाधारणहरुले खाने, नुहाउन, भाडाबर्तन माझ्ने लगायतका दैनिक प्रयोजनका लागि प्रयोग गर्ने मात्रै नभई बिभिन्न चाडबाडका समयमा यसलाई पाठपूजा गर्नुको साथै किसानले उत्पादन अन्नलाई सबभन्दा पहिले इनारमा चढाउने परम्परा रहेका जिराभवानी गाउपालिका वडा नं. ३ परसवाका सेवा निबृत शिक्षक जगदिश गौरोले बताए।
इनारमा कोईलामाताको बास हुने विश्वासले हिन्दु धर्मको धार्मिक आस्था समेत जोडिएका कारण यसको संरक्षण गर्न आवश्यक रहेको शिक्षक गौरोले बताए। तर, अहिले पौराणिक संरचना अन्तर्गत रहेका इनार लोप हुदै गएको शिक्षक गौरोको भनाई रहेका छन्। बिगतमा गाउँको हरेका टोलमा एउटा इनार रहेको तथा हरेक मठ मन्दिरमा कम्तीमा एउटा इनार निर्माण गरेकोे जानकारहरुले बताउछन्।
इनारमा ढाकछोप नहुने र त्यसबाट ल्याउने पानीमा फोहर मैला, धुलो पस्ने भएका कारण पानी दुषित हुने हुदा बैज्ञानिक पद्धति अनुसार खान नमिल्ने केही नयाँ पुस्ताहरुको तर्क छ। जसले गर्दा ऐतिहासिक इनारको संरक्षणभन्दा चापा कल, अटोमेटिक पानी आउने धारा जडान गर्न चलन बढेको छ । जसबाट चौबीसै घण्टा पानी खेर गइरहेका पाइएको छ ।
जिल्लाका सामाजिक अभियन्ता प्रकाश थारुका अनुसार इनारको पानीलाई सुरक्षित राख्न सके खाने योग्य पानी रहेको बताए । पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ दा प सुगौलीमा रहेका गुदर बाबाको स्थानमा रहेका इनारबाट अहिले पनि सर्वसाधारणले खाना पकाउने पिउने पानीको प्रयोग गर्दै आएका थारुले बताए।
इनार प्रति हिन्दु धर्मावलम्वीको आस्था जोडिएको हुँदा यसको संरक्षण गर्न आवश्यक रहेको अभियन्ता थारुले बताए । संघीयता लागू भएको सात बर्षभन्दा बढी समय बितिसक्दा पनि स्थानीय सरकार जन प्रतिनिधिहरुलाई कुनै वास्ता नरहेको अभियन्ता थारुले आरोप लगाए।
यस सम्बन्धमा थारु कल्याणकारी समिति पर्साका भूपू उपाध्यक्ष तथा थारु भाषाका कवि मोहन दास थारुका अनुसार बिवाहका शुभ कार्यक्रम तथा अन्य शुभ कार्यक्रमका लागि इनारको पानी साइतका रुपमा शुभ मानिन्छ। त्यस्तै बीरगंज महानगरपालिका वडा नं. ३१ बेलवामा रहेको आफ्नो घरको काठको इनारलाई सुरक्षित राखेको थारुले बताए।
पूर्खौली काठको इनारलाई २०१८ सालमा जिर्णोद्वार गरी पक्की बनाई प्रयोग ल्याई रहेको कवि दासले बताए। इनारहरुमा ऐतिहासिक शिला लेखहरु पनि रहेकाले यसका संरक्षण गर्न आवश्यक रहेको र संरक्षण गर्न नसके भोली आफ्नो सन्ततिलाई समेत इनार देखाउन नसकिने स्थानीय जनाएका छन्।