मधेस

लोककल्याणकारी विज्ञापनको भुक्तानी उपलब्ध गराउन पत्रकार महासंघ पर्साको माग

८ पुष २०८१, सोमबार १३:५३

८ पुष,वीरगञ्ज । वीरगन्ज महानगरपालिकाले रोकेको लोककल्याणकारी विज्ञापनको भूत्तानी गर्न नेपाल पत्रकार महासंघ पर्सा शाखाले माग गरेको छ ।

महासंघको पदाधिकारीको टोलीले वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई ज्ञापनपत्र बुझाउदै महानगरपालिकाले स्थानीय सञ्चार माध्यमहरुलाई उपलब्ध गराउँदै आएको लोकल्याणकारी विज्ञापनको भुक्तानी गर्न माग गरेको छ ।

विगत लामो समयदेखि लोककल्याणकारी विज्ञापनको भुक्तानी रोकिएको हुँदा स्थानीय सञ्चारमाध्यमहरु समस्यामा परेको जनाउदै यसको भुक्तानी यथाशीघ्र गराउन तथा महानगरले घोषणा गरेका अन्य सञ्चार सम्बन्धि कानून कार्यान्वयनको माग समेत गरेको छ ।

वीरगन्ज महानगर आमसञ्चार सम्बन्धी कानून ल्याउने पहिलो स्थानीय तहको रूपमा पहिचान बनाएको भएपनि पछिल्लो समयमा यसको कार्यान्वयनमा देखिएको उदासिनता सन्देहको विषय बनेको महासंघका सचिव विजय महतोले हस्ताक्षर गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

अहिले देखिएको आर्थिक शिथिलताको मारमा आमसञ्चार माध्यमहरू परेको अवस्थामा महानगरने उपलब्ध गराएको सहुलियत समेत रोकिँदा थप संकट निम्तिएको महासंघले जनाएको छ ।

ज्येष्ठ पत्रकारहरुको पेन्सनका लागि महानगरपालिका स्वयमले गरेको घोषणाको कार्यान्वयनमा पनि अनपेक्षित विलम्व भइरहेकोले रोकिएका लोककल्याणकारी विज्ञापन भुक्तानी, साप्ताहिक, पाक्षिक पत्रपत्रिकालाई विज्ञापनको सूचीमा समावेश गरिनुपर्ने र ज्येष्ठ पत्रकारहरुको लागि घोषणा गरिएको सहुलियत कार्यान्वयनको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्