राजनीति

विनोद चौधरीको नाममा पनि २०० कित्ता शेयर, पक्राउ गर्न खोज्दै सीआईबी

१८ पुष २०८१, बिहीबार १२:०७

१८ पुष,काठमाडौँ । सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् ।  बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संलग्नता रहेको विषय बाहिर आएको छ ।

विनोद चौधरीलाई समेत पक्राउ गर्न खोजी कार्य जारी रहेको सीआईबी उच्च स्रोतले बताएको छ । जग्गा हडप्न खडा गरिएको च्याम्पियन सुज प्रालिमा विनोद चौधरीका नाममा २ सय कित्ता शेयर भेटिएको हो ।

‘अरुण चौधरी मात्र हैन, विनोद चौधरीकै नाममा पनि २ सय कित्ता शेयर भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ’सरकारी जग्गा हिनामिना गर्ने कसैलाई नछाड्नू भन्ने आदेश छ । सीआईबीले विनोद चौधरीलाई पनि खोजिरहेको छ । उनी उम्किने ठाउँ छैन ।’पञ्चायतकालदेखि नै जग्गा हिनामिना गरेको पाइएको प्रहरीले उच्च स्रोतले बतायो ।

‘२०४२ सालमा पञ्चायतको पालादेखि प्रजातन्त्रकालसम्म उनीहरूले सरकारी जग्गा हडपेको पाइयो,’ प्रहरी स्रोतले थप्यो ।चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ ।

विनोद चौधरीले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ’थोरै होइन, ठूलो परिमाणमा सरकारी जग्गा हडपेको पाइयो, सरकारी जग्गा हडप्ने कसैलाई उम्किन नदिनू भन्ने गृहमन्त्रीको निर्देशनानुसार छानबिन गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो ।

पञ्चायतको समयमा दरबारलाई प्रभाव पारेर र बहुदल तथा गणतन्त्रको समयमा राजनीतिक दलका नेतालाई प्रभावमा पारेर चौधरी समूहले सरकारी जग्गा हडप्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्