१८ पुष,वीरगञ्ज । ठोरीकै विकट क्षेत्रका रुपमा परिचित सिकारीबासका बालबालिकाहरुको दिनचर्या बिस्तारै परिवर्तन हुन थालेको छ ।
करीब १ वर्ष अघिसम्म पनि विद्यालय समय बाहेक वनजङ्गल घुम्न र खेलकुदमा व्यस्त हुने स्कुले बालबालिकाहरु अचेल मोबाइल फोनमा व्यस्त बन्न थालेका हुन्।२ वर्ष अघिसम्म पनि गाउँमा विजुली बत्ती र मोबाइल टावर नभएर आधुनिक संसारसंग अपरिचित बालबालिकाहरु इन्टरनेट सेवा सुरुभएसंगै मोबाइलमा व्यस्त हुन थालेका छन्।
चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलमा अवस्थित उक्त गाउँमा अहिले पनि मोबाइल टावर छैन र प्रत्यक्ष फोन सम्पर्क गर्न कठिन छ । तर इन्टरनेट सुविधाका कारण फेसबूक , मेसेन्जर , ह्वाटस एपजस्ता सामाजिक सन्जालबाट यहाँका स्थानीयले सम्पर्क स्थापित गर्ने गरेको स्थानीय युवा जितेन्द्र चौधरीले बताए ।
सोलार प्रविधीमार्फत् उत्पादित सौर्य उर्जाका कारण गाउँमा विजुलीबत्ती बल्न थालेपछि मोबाईल फोन प्रयोग गर्ने बालबालिकाको सङ्ख्या बढेको चौधरीको भनाइ छ ।
इन्टरनेट सेवा प्रदान गर्ने उद्धेश्यले स्थानीय सरकारले गाउँमा निशुल्क इन्टरनेट सेवा प्रदान गरेको छ। निशुल्क इन्टरनेट सेवा प्राप्त भएपछि विद्यालय समय बाहेक बालबालिकाहरु मोबाइल फोन चलाउन राउटर वरपर झुम्मिने गरेको दृश्य सिकारीबासमा देख्न सकिन्छ ।
’गाउँमा ३ ठाउँमा वाइफाइको राउटर छ , जहाँ जहाँ राउटर छ , त्यहाँ बालबालिकाहरु मोबाईल फोनमा झुम्मिने गरेका छन्। ’ सिकारीबासको अर्का स्थानीय युवा राहुल चौधरीले बताउनुभयो । सौर्य उर्जाबाट बत्त्ती बाल्न थालेपछि जङ्गल घुम्न जानेको सङ्ख्याभन्दा मोबाइल चलाउनेको सङ्ख्या बढ्न थालेको हो ।